• ३१ वैशाख २०८२, बुधबार

ओझेलमा छ्योतछ्योत झरना

blog

बाबुराम शर्मा

दोलखा, भदौ ४ गते । दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल) झरना ओझेलमा परेको छ । चट्टानी पहाडबाट तामाकोशी नदीमा खसेको यो झरना र तलको नदीको सौन्दर्यले आकर्षण गर्ने भए पनि यो स्थलमा पर्यटकीय चहलपहल नभएकोमा स्थानीय चिन्तित छन् ।

सिँगटी–लामाबगर सडक 

खण्डको सडक छेउमा खसेको यो झरनाको पानी करिब सय मिटर बगेर तामाकोशी नदीमा मिसिएको छ । सडकमा गुड्ने सयौँ सवारीसाधन झरनाको पानीले भिजेर जान्छन् । “शीतलता र आनन्द लिने यस्तो महìवपूर्ण झरनालाई उजागर गर्न नसक्नु दुःखको कुरा हो,” स्थानीय पहलमान तामाङले गुनासो गर्नुभयो । 

यो झरना दोलखा जिल्लाको आकर्षक झरना हो । यहाँ पुग्न कुनै कठिनाइ बेहोर्नु पर्दैन, सवारीसाधनबाट सहजै पुग्न सकिन्छ । उत्तरी क्षेत्रको मुख्यबजार सिँगटी नजिकै रहेको यो झरनामा पुग्न सिँगटीबाट आधा घण्टा लाग्छ । झरनामा नियमित पर्यटक आउने वातावरण बनाउन प्रचारप्रसार तीव्र पार्न लागेको वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो । 

प्राकृतिक रूपमा रहेको झरना अद्भुत र रमणीय भएको बताउँदै वडाध्यक्ष शेर्पाले चट्टानबाट झर्ने झरनामा कुनै जोखिम नरहेकाले सडक नजिक झर्ने झरनाले सौन्दर्य बढाएको छ । “कतिपयलाई लाग्न सक्छ पहिरो जान्छ ! तर ढुङ्गैढुङ्गा भएकाले त्यस्तो कुनै जोखिम छैन । पर्यटक तथा यात्रुले कुनै डर मान्नु पर्दैन ढुक्कले झरना अवलोकन गर्नुका साथै यात्रा गर्दा हुन्छ । वर्षाका बेला झरनामा पानीको मात्रा बढ्छ र झरना झन् राम्रो देखिन्छ,” उहाँले भन्नुभयो ।

यो झरना समुद्री सतहदेखि करिब एक हजार चार सय मिटरको उचाइमा छ । सेमर्मु, घट्टे खोलालगायत दर्जनौँ सानासाना खोलाखोल्साको पानी झरनामा मिल्छ । हात्तीको सुँड झैँ देखिने यसलाई शेर्पा भाषामा हात्तीजुङ भनिन्छ ।