वसन्त पराजुली
भरतपुर, भदौ ४ गते । आफ्ना दुई खुट्टाले मात्रै शरीर धान्न नसकेपछि स्टिलका चार वटा खुट्टा भएको ‘वाकर’ को सहारामा बसेको ठाउँबाट थरथराउँदै उठ्नुभयो ८४ वर्षीय श्रीराम पावे ।
भरतपुर महानगरपालिका –१३ सिमलगैरी सीतामाई निवासी पावे उठेर विस्तारै ‘वाकर’ कै सहारामा अगाडि टेबुलसम्म पुग्नुभयो । बुढेसकालको हात कमाउँदै टेबुलमा भएको जगमा हातको पञ्जाले भुजा, चाउचाउ, भुटेको चना, उसिनेको केराउ तौलिँदै राख्नुभयो ।
आलु प्याजलाई स्लाइसमा काट्दै राख्नुभयो अनि जीराको धुलो, चाट मसला, धुलो मिक्स मसला अनि पिसेको रातो खुर्सानीको धुलो र कागतीको रस थपेर जगलाई बेस्सरी हल्लाउनुभयो ।
त्यस्तै, ३० सेकेण्ड जति हल्लाएपछि प्लेटमा राखेर ग्राहकलाई दिनुभयो । यसरी बनेको परिकार चना चटपट कपाकप खाएपछि मुख मिठ्याउँदै सरसफाइ अभियन्ता अपिल घिमिरेले भन्नुभयो, “साँच्चि नै ‘चटपटे बा’ (श्रीराम पावे) ले बनाएको चटपट स्वादिलो छ ।” पावेलाई चटपटे बा भन्ने घिमिरे मात्र हैन, प्रायः सबै युवा पुस्तादेखि केटाकेटीसम्मकाले भन्छन् ।
घिमिरे २०५१ सालदेखि स्कूल पढ्न थालेपछि ‘चटपटे बा’ ले बनाएको चटपट खाएको सम्झना गर्नुुहुन्छ । “मैले उहाँलाई सानै छँदादेखि यही चटपट बनाएकै अवस्थामा देख्दै आएको छु । उहाँको चटपटको स्वाद साँच्चि नै अरुको भन्दा धेरै फरक छ । अनि मौलिक स्वाद भएका कारण पनि मजस्तै उहाँका चटपटका पारखी यो क्षेत्रमा धेरै छौँ ।” उहाँको पहिचान नै ‘चना चटपटे बा’ बनेको छ ।
दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्मको चना चटपट विक्री गर्नेगरेको पावेले बताउनुभयो ।
लामो समयदेखि चना चटपट बनाएर विक्री गर्दै आउनुभएका श्रीराम पावेको बुढेसकालको दिनचर्या पनि चना चटपट बेचेरै बितेको छ । अहिले पनि दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्मको चना चटपट विक्री गर्नेगरेको पावेले बताउनुभयो ।
“पाँच सयदेखि सात सयसम्मको खरिद गरेको सामान गयो भने दुई हजारभन्दा बढीको कारोबार हुन्छ । यति व्यापार हुँदा कम्तीमा पनि पन्ध्र सयका हाराहारीमा नाफा हुन्छ” उहाँले भन्नुभयो । पावेले कमाएको यो नाफा भनेको महिनामा ४५ हजार हो । यो तलब नेपालमा खरदार पदमा सरकारी जागिर खाने जेठो छोरा र वैदेशिक रोजगारी खाडीमा रहेको कान्छो छोराको मासिक तलबभन्दा बढी हो । उनीहरुको तलब ३० देखि ३५ हजारकै हाराहारीमा छ ।
२०३८ सालदेखि चना चटपट व्यवसायमा लाग्नुभएका पावे पहिला जत्तिको व्यापार अहिले नभएको गुनासो गर्नुहुन्छ । “पहिले त सामान्य अवस्थामा पनि दैनिक पाँच छ हजारको चना चटपटको व्यापार हुन्थ्यो । त्यो अहिले क्रमशः घट्दैगएको छ” उहाँको अनुभव छ ।
विशेषतः कोरोनाको कहरपछि व्यापार घटेको उहाँको भनाइ छ । उहाँले चना चटपट बेचेरै ४ जना छोराको शिक्षा दिक्षा, वैदेशिक रोजगार गर्नसक्ने अवस्था मिलाउनुभयो । बढ्दो महँगीमा घर खर्च धान्नै मुस्किल हुनेबेलामा उहाँले चना चटपट बेचेरै बस्ने घर अनि जग्गासमेत जोहो गर्नुभयो ।
पहिला स्कूल घुमेर चना चटपट बिक्री गर्ने पावे २०६८ सालदेखि घुम्न छाडेर आफैँले खरिद गरेको जग्गामा बनाएको घरबाटै व्यापार गर्न थाल्नुभयो । घरमै पनि टाढादेखि चना चटपट खानकै लागि ग्राहक आउने उहाँले बताउनुभयो ।
“चना चटपट बनाउने शैली मेरो आफ्नै मौलिक छ । जिराको धुलो आफै पिस्छु, खुर्सानीको धुलो पनि बाहिरको प्रयोग गर्दिन, आफैँ लेदो बनाएर पिस्छु” उहाँले आफ्नो मौलिकता जनाउदै थप्नुभयो, “चना भुट्ने, केराउ उसिन्ने कुरा त सामान्य नै भयो ।” चना चटपटको स्वादमा आफ्नो मौलिकता मिसिनुमा मसलाको संयोजन नै भएको उहाँले बताउनुभयो ।
चितवनको आदिवासी थारु समुदायका पावे चना चटपट पेशामा आउनुको पनि आफ्नै कथा छ । “आर्थिक अवस्था कमजोर थियो । म नाचेर नै जोहो भएको पैसाले भरथेक घरखर्च चलाउँथेँ । परिवार बढ्दै गएपछि त्यो सम्भव भएन । पहिला आलु, प्याज, तरकारीका बीउहरु बेच्न थालें । त्यसले पनि राम्रो आम्दानी दिन नसकेपछि म चना चटपट पेशामा लागेको हुँ” उहाँले भन्नुभयो ।
नेपाली समुदायमा आफू पहिलो चना चटपट बेच्ने व्यक्ति भएको बताउदैँ उहाँले भारतवाट आएर मधेसीहरुले चना चटपट बेच्न सक्दा आफूले किन नसक्ने भनेर सुरु गरेको जानकारी दिनुभयो ।
“मैले सुरुमा टाउकोमा चना चटपटका समान राखेर बिक्री गर्दै हिँड्दा छिमेकका जमिनदारहरुले खिसिट्युरी गर्थे । मलाई चाहिँ पेट पाल्नकै लागि पनि यो पेशा गर्नु नै थियो” उहाँले भन्नुभयो । बुढेसकाल लागेपछि छोराहरुले आफूलाई पेशा छाड्न दबाब दिएको उहाँले बताउनुभयो ।
“छोराहरुले नगर भन्छन्, मेरो मन नै मान्दैन” उहाँले भन्नुभयो, “दुई वर्षअघि खुट्टा भाँच्चिएपछि त मलाई यो पेशा नगर भनेर छोराहरुले दबाब नै दिएका हुन् । तर के गर्नु गरिआएको बानी छाड्न मन लाग्दैन । सकेसम्म यो पेशा गरिरहन्छु ।”
वि. सं १९९६ साल आफ्नो जन्म वर्ष भए पनि महिना र गते थाहा नभएको बताउनुहुने पावे एक सुका (पच्चीस पैसा) बाट बेच्न लागेको चना चटपट अहिले ६० रुपियाँ पुगेको बताउनुभयो । चना चटपटमा प्रयोग हुने सामान र बनाउने शैली पनि समयअनुसार ग्राहकको स्वाद फेरिंदै गएको उहाँको भनाइ छ ।
हामी आफ्नै घरमा भएको स्रोत साधन र कच्चा पदार्थ प्रयोग गरेर चना चटपट बनाइरहेका छौँ ।
“चना चटपट बनाउने शैली र प्रयोगमा आउने समान समयअनुसार बदलिँदै गएको छ । पहिला प्याज, चिउरा भुटेर बनाइन्थ्यो । केराउ, चना हालिन्थ्यो, अहिले चाउचाउ, आलु चना नभइ नहुने भयो ।”
काठमाडौँ लगायतका शहरमा अखाद्य वस्तु मिसाएको र फोहोर भएको भन्दै चना चटपट एवम् पानीपुरी विक्रीमा रोक लगाइरहेका बेला पावे भने आफूले बनाएको चना चटपट खाद्य सुरक्षाका दृष्टिले जुनसुकै ल्याबमा लगेर परीक्षण गर्न पनि चुनौती दिनुहुन्छ ।
उहाँले भन्नुभयो, “हामी आफ्नै घरमा भएको स्रोत साधन र कच्चा पदार्थ प्रयोग गरेर चना चटपट बनाइरहेका छौँ । समस्या अमिलोमा हो । मैले कागतीको अमिलो प्रयोग गर्ने भएकाले पनि समस्या छैन” उहाँले भन्नुभयो ।