• १३ साउन २०८१, आइतबार

मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुइँचो

blog

बागमती, भदौ  ३ गते । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्य बर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा रहेको छ । 

गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरूका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहनुभएकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउनुहुन्छ । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसंस्था, वित्तीय संस्थाहरू, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरूबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरूको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ । 

वि.सं. १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी  ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्त्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरू मकवानपुरबाट पश्चिमतर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे । 

पृथ्वीनारायण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरू बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरू, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्त्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । 

विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरू आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । 

गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयवासी बाबुलाल तितुङ बताउनुहुन्छ । उहाँका अनुसार ललितपुर, काठमाडौँ, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरू आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरूको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउनुहुन्छ । 

हेटौँडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौँबाट सिधा आउन चाहनेहरूले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाईँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठुलो गढीमा मात्रै पर्यटकहरू पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउनुहुन्छ । 

मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरूको उद्गमस्थल मकवानपुर नै हो । 

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखहरूमा पाइएकोलाई आधार मान्दा सेनहरू पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरूको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । रासस