• १३ साउन २०८१, आइतबार

साहित्यिक विरासत

blog

हिटलरले आफ्नो सुप्रसिद्ध आत्मजीवनी (मेनक्याम्फ) मा भनेका छन्, ‘‘मैले विवाह नगर्नुका केही कारणहरू छन् । विवाह गरेपछि सन्तान हुन्छन् । राजनीतिमा लागेका अधिकांश ठुला मानिसका सन्तान नालायक हुन्छन् र तिनीहरू पिताको उत्तराधिकारी बन्न सक्छन् । त्यसैले नालायक सन्तान हुनुभन्दा हुँदै नभएको राम्रो ।’’ आफूले काम गरेको क्षेत्रमा आफ्ना नालायक उत्तराधिकारीको प्रवेश नहोस् भन्ने कुरामा हिटलर जस्ता कुख्यात तानाशाहसमेत सजग रहेछन् । अहिले विश्व राजनीतिमा वंशवाद झाङ्गिरहेको प्रतीत हुन्छ । यसका राम्रा–नराम्रा पक्षको बहस विवादहरू आआफ्ना ठाउँमा होलान् । राजनीतिको वंशवाद जस्तो साहित्यिक विरासतलाई नकारात्मक रूपमा भने प्रस्तुत गर्न सकिँदैन । यस सन्दर्भमा नेपाली साहित्यिक क्षेत्रमा एकै परिवारका व्यक्तिहरू को को चर्चामा रहेका छन् त ? प्रस्तुत लेख साहित्यिक विरासतमा केन्द्रित छ । 

“मेरो प्रेरणाको स्रोत नै मेरो पिताजी हो,” मञ्जु काँचुली आफ्ना पिता भीमनिधि तिवारीको प्रसङ्ग जोड्दै भन्नुहुन्छ, ‘‘मैले आफ्नो जिन्दगीमा आँखा उघारेर पहिलोचोटि देखेको साहित्यकार नै उहाँ हुनुहुन्थ्यो ।’’ यसरी छोरीले केवल बाबुलाई सम्झेको मात्र होइन, स्वयम् भीमनिधि तिवारी पनि आफ्ना छोरी बेञ्जु र मञ्जुप्रति कति गहिरो आशा र भरोसा राख्नु हुन्थ्यो भन्ने कुरा यस संवादबाट पनि थाहा पाउन सकिन्छ । 

भीमनिधि तिवारी भन्नुहुन्थ्यो, “आजकाल भने म लेख्दिनँ, लेखाउँछु यी छोरीहरूलाई, त्यसैले बेञ्जु, मञ्जु तपाईंले लेख्नुभएको होइन, यो त हामीले लेखेको भन्छन् ।”

“आफैँले लेख्न के भयो र ?”

‘‘स्वास्थ्य खराब भएकाले आफूले कुनै ठोस काम गर्न सकेको छैन । आजकाल कहिलेकाहीँ फाट्टफुट्ट कविताले मन भरिन्छ । अनि छोरीलाई डाक्छु र लेखाउँछु । ओहो मेरा चारै जना छोराछोरीको साहित्यप्रतिको चाख दिन परदिन बढ्दो छ । छोरीहरू सब कविता लेख्छन् र म बाहिर कविता सम्मेलनमा कविता सुनाउन जान लागेँ भने यिनीहरूलाई देखाएर र यिनीहरूको राय लिएर मात्र जान पाउँछु, चर्का भइसके ।’’ भीमनिधि तिवारीको यो भनाइबाट (स्रष्टा र साहित्य पृ. १२५) पारिवारिक सदस्य सबै साहित्यमा लाग्दाको एउटा सकारात्मक र रमाइलो पक्ष यो घरमा रहेको देखिन्छ । 

तिवारीको घर मात्र होइन, यहाँ ऋद्धिबहादुर मल्लको घर पनि उत्तिकै प्रफुल्लित छ । “उनीहरूप्रति म पूर्ण सन्तुष्ट छु । त्यस्ता दुई छोरा नेपाली साहित्यलाई दिन सकेकोमा आफूलाई गौरवान्वित पनि सम्झन्छु,” एक प्रसङ्गमा उहाँले भन्नुभएको थियो । साहित्यकार पिता ऋद्धिबहादुर मल्ल आफ्ना दुई छोरा गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लप्रति यसरी गर्व गर्नु हुन्छ । हुन पनि नेपाली साहित्यिक बगैँचामा यी दुई नामहरू सुवासित रूपमा मगमगाइरहेको देख्दा सर्वसाधारण पाठक त मन्त्रमुग्ध हुन्छन् भने स्वयम् पिताजीलाई गौरव लाग्नु अस्वाभाविक होइन । 

नाट्य सम्राट्का रूपमा कहलिएका बालकृष्ण समको घरामा सबै कलातर्फ लागेकाले उहाँ पनि बालककालदेखि नै कला, साहित्यतर्फ अभिप्रेरित हुन पुग्नु भयो । उहाँकै भाइ पुष्करशमशेर सुपरिचित कथाकार हुनुहुन्थ्यो भने बालकृष्णकै छोरा जनार्दन सम साङ्गीतिक क्षेत्रमा संलग्न भई आफ्नो समयको राम्रो गायकमा नाम दर्ता गराइसक्नु भएका सर्जक हुनुहुन्थ्यो । 

त्यसो त युगकवि सिद्धिचरण श्रेष्ठको पिताजी विष्णुचरण श्रेष्ठले उपन्यास लेख्नुभएको छ । उहाँका दुई वटा उपन्यास प्रकाशित छन् । आफ्नी आमाको रामायण र महाभारत पाठको प्रभावबाट सिद्धिचरण श्रेष्ठमा ठुलो छाप परेको कुरा थाहा हुन्छ भने छोरा रविचरण श्रेष्ठ पनि साहित्यिक क्षेत्रमै रमिरहनु भएको छ । 

आमाको प्रभावमा पर्ने सिद्धिचरण श्रेष्ठ मात्र होइन, पोषण पाण्डे पनि हुनुहुन्थ्यो । ‘भिनाजुको स्वीटर’जस्तो मनोविश्लेषाणात्मक कथा सिर्जना गर्ने सशक्त स्रष्टा पोषण पाण्डेकी माता भगवतकुमारी पाण्डे पनि साहित्यकार हुनुहुन्थ्यो । उहाँका प्रकाशित कृति पनि छन् । पोषण पाण्डेकी छोरीमा पनि साहित्यिक प्रभाव अवश्य नै परेको थियो भन्न सकिन्छ । समालोचक डा. ज्ञानु पाण्डेले हाल त्यो विरासत सम्हाल्दै आएको प्रतीत हुन्छ ।

नेपाली साहित्यिमा एकै परिवारभित्रका सदस्यहरू अनवरत रूपमा लागेर ख्याति कमाउन सफल भएका उदाहरणहरू यसरी अनेक प्रस्तुत गर्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पिताजी तिलमाधव देवकोटा (१९९०) संस्कृत र नेपालीमा राम्रो दखल राख्ने एक रसिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका चन्द्रचन्द्रिका र कविता सङ्ग्रहका कृतिहरू प्रकाशित छन् । पिताजीको प्रभाव र छाप हाम्रा महाकविमा नपर्ने कुरै भएन । त्यस्तै महाकविकी दिदी लोकप्रियादेवी जोशी, लोकप्रियाकी छोरी शशी रिमाल अथवा महाकविकै छोरी सावित्री रेग्मीले पनि साहित्यिक क्षेत्रमा लागेर केही भजनहरूमा कलम चलाइरहनु भएको देखिन्छ । 

कवि शिरोमणि लेखनाथ पौड्याल पनि यसमा अपवाद देखिनु हुन्न । कवि शिरोमणिका छोरीहरू कुन्तादेवी भट्टराई हुन् या पुण्यप्रभादेवी ढुङ्गाना कवि तथा लेखिकाका रूपमा प्रसिद्धि कमाइसक्नु भएका सर्जक हुनुुहुन्छ । 

अलि अघि नै जाने हो भने शक्तिबल्लभ अज्र्यालका कान्छा भाइ राधावल्लभ अज्र्याल तथा शक्तिबल्लभकै भतिजा उदयानन्द अज्र्याल पनि साहित्यमा जमेकै प्रतिभाहरू थिए । कवि दैवज्ञकेशरीका छोरा विद्यारण्यकेशरी, मोतीराम भट्टका मामा नरदेव पाण्डे, भानुभक्तका पुत्र रामनाथ आचार्य आदि थुप्रै उदाहरण प्रस्तुत गर्न सकिन्छ ।  पत्रपत्रिकामा दाइ हृदयचन्द्र सिंह प्रधानको नाम छापिएको देखेर भाइलाई पनि आफ्नो नाम छपाउने रहर जागेर आयो । यही धुनमा कृष्णचन्द्रसिंह प्रधानले सुरुमा कविता लेख्न थाल्नु भयो र अन्ततः नेपाली साहित्यमा आफ्नो दह्रो उपस्थिति जनाउन सफल हुनुभयो । 

मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र तारिणीप्रसाद कोइराला एउटै परिवारभित्रका दाजुभाइले नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि राम्रो प्रसिद्धि कमाइसक्नु भएको छ । धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम, जगदीशचन्द्र रेग्मी र दिनेशचन्द्र रेग्मी, गोविन्द वियोगी र बासु शशी, मोहन कोइराला र शङ्कर कोइराला, महेशराज पन्त र दिनेशराज पन्त, तारानाथ शर्मा, लक्ष्मीनाथ शर्मा र दुर्गानाथ शर्मा, परशु प्रधान र शैलेन्द्र शाकार, तुलसी भट्टराई र गोविन्दराज भट्टराई, विष्णुविभु घिमिरे र रमण घिमिरे, मुकेश मल्ल र अशेष मल्ल, दुवसु क्षेत्री र कृशु क्षेत्री तथा भरत भारद्वाजहरू नै किन नहुन् यस्ता थुप्रै दाजुभाइले नेपाली साहित्यको सेवामा दिइरहेको योगदानको इतिहास हामीसँग सुरक्षित छ । 

शैलेन्द्र शाकारलाई धेरैले सोध्छन्, “एकाघरका दाजुभाइ कसरी साहित्यकार हुन पुगे ?” “हजुरबुवा नै लेख्नुहुन्थ्यो । उहाँका दर्जनौँ कविता रहेछन्, ती बटुलेर सानो पुस्तक निकालेका छौँ ।” उमेरमा साढे तीन वर्षको फरक रहनु भएका परशु प्रधान र शैलेन्द्र शाकार दाजुभाइबिच समालोचकीय सम्बन्ध पनि कायम छ । दाइले केही लेख्दा भाइले पढेर सुझाव दिनुहुन्छ । भाइको कवितामाथि दाइ टिप्पणी गर्नुहुन्छ । ‘अमेरिका बस्दा पनि फोनमा कविता सुनाउथेँ, लेखनसँग ठट्टा गरेको परशु दाइ मन पराउनु हुन्न,’ निर्भीकजङ्ग रायमाझीले दाइभाइका रमाइला साहित्यिक कुराकानी प्रस्तुत गर्नुभएको छ । दाजुभाइको मात्र के कुरा बाबुछोरा पनि साहित्यिक क्षेत्रमा मनग्गे देखिन्छन् हामीकहाँ । भाषासेवी राममणि आदीका छोरा केदारमणि, केशवमणि, जगन्नाथ सेढाईंका छोरा वैजनाथ सेढाईं, महानन्द सापकोटाका छोरा जगदीश नेपाली, रमेश विकलका छोरा विजय चालिसे, डा. डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मी, मोहनराज शर्माका छोरा मनिक्रमराज शर्मा खगेन्द्र प्रधानाङ्गका छोराहरू अशेष मल्ल, मुकेश मल्ल, नन्दनहरि उपाध्यायका छोराहरू ध्रुवहरि अधिकारी, दिनेश अधिकारी, कुलचन्द्र कोइरालाका छोरा जीवनचन्द्र कोइराला आदि आदि । 

बाबुछोरा मात्र होइन, बाबुछोरी पनि साहित्यिक क्षेत्रमा लागेका छन् । भीमनिधि तिवारीका दुई छोरीहरू बेञ्जु शर्मा र मञ्जु काँचुली मात्र होइन गोमा शर्माकी छोरी डा. गार्गी शर्मा, केशवराज पिंडालीकी छोरी कुन्दना शर्मा, गोपाल पाँडे असीमकी छोरी रमा शर्मा, जगन्नाथ त्रिपाठीकी छोरी सुधा त्रिपाठी, बासुदेव लुइँटेलकी छोरी सुष्मा आचार्य, भूपि शेरचनकी छोरी कविता शेरचन उल्लेखनीय नाम हो । मदनमणि दीक्षितका छोराछोरी विनोद दीक्षित र इल्या भट्टराई दुवै यस क्षेत्रमै हुनुहुन्छ । 

विरासतमा मात्र होइन, श्रीमान् र श्रीमतीहरू पनि यस क्षेत्रमा लाग्नेहरूको कमी छैन । गणेश भण्डारी र सुशीला कोइराला भण्डारी, परशु प्रधान र कल्पना प्रधान, दमननाथ ढुङ्गाना र भुवन ढुङ्गाना, नरहरि आचार्य र शारदा शर्मा, खगेन्द्र लुइँटेल र लीला लुइँटेल, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई, मोदनाथ प्रश्रित र कविता पौडेल, विनोद मञ्जन र गायत्री विष्ट आदि–आदि । यी त केही प्रतिनिधि पात्र हुन् । सबैको विवरण दिने हो भने यो विवरण पनि निकै लामो हुन सक्छ । 

एक एक वटा पेसा, व्यावसाय अङ्गालेर काम गर्ने हाम्रो नेपाली समाजको सामाजिक परम्परा रही आएको छ । यो हाम्रो वंशानुगत स्वभाव नै हो । अझ पूर्वीय सामाजिक संरचना त झन् यस्तो छ कि आफ्नो घर–परिवार र गृहस्थी अति सुमधुर र समृद्ध भएर चलाउन र चलेको हेर्न परिवारका सदस्यहरू उत्सुक रहन्छन् । त्यसमा पनि परिवारका मूली अर्थात् अभिभावकहरू जीवनकालमा आफ्ना छोराछोरीको भविष्य निश्चित र सुरक्षित भएको देख्न चाहान्छन् । शायद त्यसैले पनि होला आफ्ना सन्तानहरूलाई आफूले नगरेको, नबुझेको भिन्नै क्षेत्र, पेसा र व्यवसायमा उनीहरूलाई जान हौसला सितिमिति दिँदैनन् पनि । व्यापारीले आफ्नो छोराछोरी व्यापारमै प्रवेश गरोस् भन्ने चाहना राख्छन् भने कर्मचारीले जागिर खाइदियोस् भन्ने चाहन्छन् । बाबु राजनीतिमा संलग्न भए छोराछोरी पनि बाबुआमाका साथीभाइ, नेता, कार्यकर्ताको सङ्गतले यही क्षेत्रमा रम्न पुग्छन् । हुन पनि सानैदेखि घरायसी वातावरणको घुलमिलका कारण र पेसागत अभ्यस्तताले गर्दा पनि यस्ता काम, व्यवसायमा उनीहरूको इच्छासमेत जागृत हुन्छ । त्यसका सकारात्मक र नकारात्मक पक्षबारे सानैदेखि उनीहरू परिचित हुन्छन् र धेरै हदसम्म सुगमता पनि मिल्न पुग्छ । नाचगान, वाद्यवादन, कला जस्ता सिर्जनात्मक क्षेत्रमा समर्पितका कतिपय छोराछोरी पनि बाबुआमाकै बिंडो थाम्न आइपुगेको देखिन्छ । साहित्यिक क्षेत्र पनि यसमा पृथक् देखिँदैन ।

कहिलेकाहीँ आफूले गम्भीर रचना सिर्जना गरे पनि आफूभन्दा उँचो व्यक्तित्व त्यो परिवारमा भएको खण्डमा त्यो नाम र त्यसको रचना फिका पनि नदेखिने होइन । अझ कतिपय सन्दर्भमा त उसैले सन्तानको रचना समेत लेखिदिने गरेको आरोप पनि लगाउने गरिन्छ । यस प्रसङ्गमा एउटा चोटिलो उदाहरण वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनु भएको छ, यस पङ्क्तिकारसँगको भेटमा । उहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाको भाइ मात्र होइन, राम्रो गीतकार र कवि पनि हुनुहुन्छ । ‘दाइको व्यक्तित्वको अगाडि भाइको व्यक्तित्व भाइ नै हुँदोरहेछ । दाइ प्रधानमन्त्री हुनेबित्तिकै भाइ ‘लो प्रोफाइल’ मा गइ जान्छ, हामीमा त्यो कुरा लागु भएको थियो । ठुलो रुखको छहारीमुनि बस्दा सेप लाग्छ भन्थे हो रहेछ ।’ 

“...तपाईं नेपाली साहित्यिक जगत्मा सशक्त रूपमा प्रेमा शाह वा पारिजात जस्तो किन प्रतिस्थापित हुन सक्नुभएन ?” भन्ने कथाकार ध्रुव सापकोटाको प्रश्नमा मञ्जु काँचुलीको उत्तर थियो, ‘‘...कैयौँ वर्ष त मेरा पिता साहित्यकार भीमनिधि तिवारीको ओजस्वी साहित्यिक व्यक्तित्वको छायामुनि विलिन भएर हराएँ । मेरो छुट्टै साहित्यिक अस्तित्वको पहिचान भएन । मेरो सम्पूर्ण साहित्यिक व्यक्तित्व तिवारीजीकी छोरीको रूपमा सीमित भयो (केही क्षण केही अनुहार पृ.२१७) ।’’ यसरी आफ्नो जतिसुकै क्षमता, योग्यता हुँदाहुँदै पनि त्योभन्दा उँचो र महìवपूर्ण व्यक्तित्वका कारण कहिलेकाहीँ यस्ता घटनाहरू पनि आउने गर्छन् । यस प्रसङ्गले यही कुराको सङ्केत गर्दछ ।

आमा, बुवा वा श्रीमान्को फेर समातेर राजनीतिमा आउन जति सजिलो छ, साहित्यमा चाहिँ यो प्रयोग सफल देखिँदैन । राजनीतिमा आमा, बुवा वा श्रीमान्को निधन हुँदा सन्तानहरू व श्रीमतीप्रति एक किसिमको सहानुभूति जाग्छ । यसले बिना कुनै लगानी र योगदान सहानुभूति स्वरूप पद बक्सिस जस्तो गरी लाभ प्राप्त पनि हुने गरेका छन् । यो परिस्थितिबाट सत्तामा आसीन हुन पुगेका उदाहरण पनि नभएका होइनन् तर साहित्यमा गहन रचना सिर्जना नगरी सहानुभूतिले मात्र काम चल्दैन । सिर्जनामा विषयवस्तु र कला पक्ष सबल र सुन्दर पार्नै पर्छ अथवा हुनै पर्छ । लेखकीय इमानदारीलाई राम्ररी परिपालना नगरी यसमा टिकिरहन सकिँदैन । एकछिनका लागि अरू कसैको मद्दतले भए पनि सधैँभरि कसैले कसैको वैशाखी भइरहन सक्ने कुरा पनि होइन । त्यसमाथि राजनीतिको जस्तो एक पटक पदमा ल्याइदिएपछि स्वतः कार्यकर्ता बढ्ने तथा एउटाले सङ्गठन बलियो पारिदिने अनि भाग खान दोस्रो आइपुग्ने जस्ता कुरा यसमा सन्निहित हुँदैन । त्यसैले साहित्यमा कमजोर सिर्जना शक्ति भएका व्यक्तिलाई पाठकले सजिलै अस्वीकृत गरिदिन्छन् । नत्र जवानीमा प्रायः हरेकले गीत तथा कविता लेखेकै हुन्छ तर के तिनीहरू सबै साहित्यकार हुन सकेका छन् ? त्यसैले साहित्यिक क्षेत्रमा लाग्दा आफ्नो कलमको सिर्जना शक्ति र सिप नभएसम्म प्रवेश गर्न त सकिएला तर टिकिरहन गाह्रो हुन्छ । पाठकको मनमस्तिष्कमा लेखक बनेर बस्न सक्नुको मुख्य कारण उसको लेखनी हो । लेखनीबाट नै लेखकलाई पहिचान र प्रसिद्धि मिल्छ । साहित्यकारको खुबी, विशेषता र सबल पक्ष भनेको नै यही हो । वंशवादको फेर समातेर मात्र यस क्षेत्रमा काम चल्न सक्दैन, यो कुरा निर्विवाद छ ।  

 

Author

नगेन्द्रराज रेग्मी