• ३१ वैशाख २०८२, बुधबार

बने सुविधासम्पन्न विद्यालय भवन

blog

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निर्माण गरिएको विद्यालय भवन ।तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, भदौ २ गते । वि.सं. २०७२ को भूकम्पले सिन्धुली जिल्लामा भत्किएका अधिकांश सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत भूकम्पले क्षतिग्रस्त विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भएका हुन् । नयाँ भवनमा कम्प्युटर ल्याब, विज्ञान ल्याब, पुस्तकालय, बाल कक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्छाकोठा, बालमैत्री, अपाङ्ग मैत्री, खानेपानीसहितको आवश्यक सुविधा रहेको सम्बन्धित विद्यालयले जनाएका छन् ।

दुधौली नगरपालिकास्थित ज्ञानकुञ्ज मावि पचरुखीका प्रधानाध्यापक प्रेमप्रसाद भट्टराईले भूकम्पले ढालेका विद्यालयका भवन यतिखेर करिब सात करोड रुपियाँको लागतमा सुविधा सम्पन्न निर्माण भएको सुनाउनुभयो । उहाँका अनुसार नवनिर्मित दुई वटा भवनमा २४ कोठा छन् । “अहिले विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो वर्षदेखि तीनवर्षे डिप्लोमा इन्जिनियरिङको पढाइ पनि सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो ।

प्रशासनिक खर्च धान्न सकस

सुविधासम्पन्न नयाँ भवन बनेपछि पठनपाठनमा सहज भए पनि प्रशासनिक खर्च धान्न कठिन भएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । उहाँका अनुसार सरकारले सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च भनी वार्षिक प्रावि तहलाई १५ हजार, आधारभूत तहलाई २० हजार र मावि तहलाई २५ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ । उक्त बजेटले विद्यालयको प्रशासनिक खर्च धान्नै नपुग्ने र विद्यालयमा बिजुलीको मासिक खर्च मात्रै २० हजारदेखि २१ हजार रुपियाँसम्म उठ्ने गरेको उहाँले बताउनुभयो । फिक्कल गाउँपालिका–२, पोखरीस्थित मावि सुन्तलेले पनि नयाँ भवन पाएको छ । उक्त विद्यालयको भवन भूकम्पले भत्काएपछि बनेको नयाँ आधुनिक भवन एसियाली विकास बैङ्कको पाँच करोड २४ लाख २५ हजार ५०८ रुपियाँ सहयोगमा निर्माण भएको विद्यालयले जनाएको छ । 

सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर लुङ्गेलीले भूकम्प गएको तीन वर्षसम्म खुला आकाशमुनि हुरी झेलेर पढ्दै आएका विद्यार्थी सुविधासहितको नयाँ भवनमा पढ्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।  भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालयमा पक्की भवन, तीनकोठे ट्रस्ट भवन र दुईकोठे ट्रस्ट भवन निर्माण भएको छ । कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शङ्कर लुइँटेल पनि भूकम्पपछि पुनर्निर्माण भएका सामुदायिक विद्यालयका भवन सुविधासम्पन्न र आकर्षक बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भूकम्पपछि बनेका भवनमा विद्यार्थीलाई आवश्यक सुविधा छ । भवन हेर्दै विद्यालय जाने वातावरण बनेको छ ।”

३८८ भवन निर्माण

सिन्धुली जिल्लामा रहेका कुल ५७५ वटा विद्यालयमध्ये २०७२ सालको भूकम्पले भत्काएका र चर्काएका ५५१ विद्यालयमध्ये ३८८ वटा सामुदायिक विद्यालयका नयाँ भवन निर्माण भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

निर्माण गरिएका ३८८ विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३०३ वटा, निर्माण व्यवसायीमार्फत ४८ वटा र गैरसरकारी संस्थामार्फत ३७ वटा विद्यालय निर्माण भएको एकाइ प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित बाँकी १६३ विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा नपरेकाले निर्माण हुन नसकेको हो । 

भूकम्पबाट क्षति भएका विद्यालय निर्माण गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) बाहिरिसकेकाले बाँकी भूकम्प प्रभावित विद्यालय निर्माण हुने, नहुने निश्चित छैन । भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा हालसम्म दुई अर्ब ६६ करोड रुपियाँ खर्च भइसकेको छ । २६ वटा एसियाली विकास बैङ्क, ३७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र बाँकी विद्यालय नेपाल सरकारले निर्माण गरेको समन्वय एकाइले जनाएको छ ।