• ८ मंसिर २०८१, शनिबार

लोग्नेको माया

blog

भित्तामा झुन्ड्याएको क्यालेन्डरको पाना हरेक महिना पल्टाए जस्तै जीवनका पानाहरू पनि क्रमिक रूपमा पल्टिँदै गइरहेका छन् । बिहान क्यालेन्डरको पाना पल्टाउँदा सँगै झुन्डिएको फोटोमा मेरो आँखा पुग्छ । हुन त विगत १९ वर्षदेखि त्यही स्थानमा झुन्डिएको फोटो थियो त्यो तर पनि किन त्यस फोटोले गर्दा आज दिनभरि मुड अफ भइरह्यो । अर्थात् एक प्रकारको आत्माग्लानि लागिरह्यो । अफिसमा पनि ध्यान पटक्कै लागेन ।

आजबाट घरमा ट्युसन टिचर आउँछ छोरीलाई पढाउन । एसइईको रिजल्ट राम्रो ल्याई भने त्यसको पनि राम्रो हुन्थ्यो । कति चाँडो झमक्क अँध्यारो भएको हो । भर्खर त ५ बज्यो । 

“मेडम अझै बस कुरिराख्नु भएको छ ? म ड्रप गरिदिन्छु । त्यही मौकामा बाटोमा कतै झरेर कफी पिउँला । यहाँसँग बसेर एक एक कप कफी पिउन पाए आजको दिन राम्रो भएको सम्झने थिएँ ।” रातो गाडीभित्रबाट लाडिँदै अफिसको क्लाइन्ट बोलिरहन्छ ।

“धन्यवाद, श्रीमान् आउँदै हुनुहुन्छ लिनलाई । उहाँलाई नै कुर्दै थिएँ । सधैँ समयमै आउने आज आउन लेट गर्नुभयो । आउँदै हुनुहुन्छ होला ।” सुनेपछि अँध्यारो मुख पारेर गाडी अगाडि बढाउँछ । 

एक त बिहानैदेखि मुड अफ छ । हिजो बेलुका खाना खाएदेखि अन्न पेटमा परेको छैन । त्यसमा अफिसको कामले टेन्सन । अब आएर यो बस पनि आउँदैन समयमा । जुन दिन चाँडो डेरा पुग्नु पर्छ त्यही दिन लेट गर्छ बसले पनि ।

“सधैँ यो समयमा आउने बस आज किन आउँदैन ?” सँगै उभिरहेकी महिलालाई सोध्छु म ।

“आज ट्राफिक जाम छ नि ! त्यसैले कुनै गाडी आउन पाएका छैनन्” रिसाउँदै भन्छिन् उक्त महिला ।

“श्रीमान्लाई लिन बोलाए हुन्छ नि । हेर्दा त बसमा चढ्ने जस्तो देखिनुहुन्न । नरिसाउनु होला मनमा लागेको कुरा भनेको हुँ,” हाँस्दै सोध्छिन् । 

“किन र दिदी बस चढ्न पनि यस्तोले र उस्तोले भन्ने हुन्छ र ? अफिस आउने र जाने नै मेरो त बस हो ।” हाँस्न मन नलागे पनि हाँसे जस्तो गरेर उत्तर दिन्छु । 

कस्तो समाजमा जन्म लिएछौँ हामीले ! एउटा नारीले बाटोमा बस कुर्दा सबैले आफ्नो तरिकाले अड्कल बाजी गर्ने । बाटोमा हिँड्ने, बाइक चढ्नेदेखि गाडी चलाउनेसम्मले साँझपख उभिएको नारीलाई देख्न पाएको छैन हेर्ने दृष्टिकोण फरक हुन जान्छ । के सबैलाई एउटै वर्गमा राखेर तुलना गर्नु ठिक होला र ? विगत पाच/छ वर्षदेखि बस चढ्दा भोग्नु परेका पीडाहरूले परिपक्व बनाएकी म । हजारौँ नारीहरू जो दिनरात बसभित्रै आफूलाई पुरुषहरूबाट अपहेलित भएर पनि सहन बाध्य छन् । कसले सुन्ने हाम्रो कुरा यो देशमा ? जाबो एउटा बस चढ्दासमेत आफूलाई असुरक्षित महसुस हुने देशमा जन्मेको म । एकै पटक कन्पारा तातेर आउँछ सबै सम्झँदा । 

“भाटभटेनी, चक्रपथ, गोपीकृष्ण हल, बसको कन्डक्टर चिच्याउँदै गर्दा पनि एक प्रकारको विरक्ति लागेर आउँछ ।”

७ नै बजेछ आज त । के खाई होली छोरीले ? चाँडो चाँडो ढोका खोल्छु । 

“मामु आज किन ढिला तपाईं ? कस्तो भोक लागिसक्यो ।”

“बस नपाएर कस्तो । त्यसमा पनि यस्तो भिड कि कुरै छाड । अनि खै त तिम्रो बाबा ? आज म पर सरेको पहिलो दिन भन्ने थाहा हुँदाहुँदै पनि अझै आउनु भएको छैन ?”

“म स्कुलबाट आउँदा सुति नै रहनुभएको थियो । आमाको फोन आएपछि खै कहाँ गएको हो ?”

“बाबासँग भनेर केही खाको भए हुनि । मैले भान्सामा गएर केही पकाउन पनि मिलेन । आज फेरि रगत जाँदा जाँदा साहै्र गलेको पनि छु म ।”

“अनि बाबालाई लिन बोलाको भए हुने नि मामु ?”

छोरीको कुराले अफिसबाट निस्कनुअघिको कुरा सम्झन्छु ।

“हेलो, आज मेरो पिरिएडको पहिलो दिन हो । रगत धेरै गइराखेको छ, जसले गर्दा केही खाको पनि छैन । त्यसैले आज मलाई लिन आउँछौँ अफिस ? बरु बाटैबाट बेलुकाका लागि केही खाना लिएर जाउँला ।”

“तेरो नोकर सम्झेकी छेस् मलाई ? तैँले भनेको ठाउँमा लिन र छोड्न जाने । तेरो भाइ अथवा केटालाई बोला न लिनलाई । एकदिन नखाँदैमा तेरी छोरीलाई केही हुँदैन । मेरो काम छ, अफिसमा घरिघरि फोन गरेर डिस्टर्ब नगर मलाई । तँ जस्तो सबै हुन्छन् नछुनी । ज्यादा नाटक नगर ।”

महिनाको चार दिन पर सरेर अलग बस्नु पर्दा आमा र छोरी नै भोकै बस्नु पर्ने । दुई छाक भात पनि माइतीमा गएर खानु पर्ने बाध्यता मेरो । सन्चो नभएर लिन बोलाउँदा समेत त्यस्तो बचन खानु पर्ने मैले !

मेरो आँखा फेरि त्यही भित्तामा झुन्डिएको फोटोमा गएर अड्किन्छ, जसमा १९ वर्ष पहिला उसले मेरो सिउँदोमा सिन्दुर हाल्दा खिचिएको थियो । भित्ताबाट उक्त फोटोलाई निकालेर डसबिनमा फ्याँकी दिन्छु । 

बेलुका अलि ढिला डेरा पुग्नु अगावै छोरीको कान भरिसकेको हुन्छ । 

“आज तेरो मामु कुन केटासँग घुम्न गई । छोरीको माया भएको भए अघि नै घर आइसक्थी नि । त्यसैले तँ र म मिलेर त्यसलाई हेला गर्नु पर्छ । अनि ठिक ठाउँमा आउँछे ।”

होइन मैले यी सब कुरा भनिरहँदा छोरीले के सोच्ली मेरो बारेमा भनेर अलिकति पनि सोच्दैन उसको दिमागले ? १४–१५ वर्षकी छोरीलाई त्यो पनि आफ्नै आमाको विरुद्ध कुरा लगाउँदा त्यस छोरीको दिमागमा के असर पर्छ भनेर सोच्न नसक्नु कतिसम्म तल गिर्न सकेको होला ? 

बिहान उठेर घरको काम गरी, अफिस गई र बेलुका घरमा आएर फेरि त्यही घरको काम गर्दा ऊ मस्तले मोबाइलमा गेम खेलेर बसिरहेको हुन्छ । अझ समयभन्दा केही मिनेट ढिला भएर घर छिर्दा उसले मलाई हेर्ने आँखा यस्ता हुन्छन् कि कुनै जघन्य अपराध गरेर आउँदैछु । सिन्दुर, पोते, चुरा र नामको पछाडि उसको थर राख्दैमा हरेक पल उसको दास भएर बस्नुपर्ने मैले ! 

उसको पिटाइ र कटु बचन सहेर पनि सधैँ उसको पाउको पानी पिउनु पर्ने ? हरेक दिन मेरो चरित्रको सफाइ पेस गर्नुपर्ने उसलाई ? विवाहपछि एक नारीको अधिकार मात्र लोग्नेमा सीमित हुन्छ र ?

“तपाईं हरेक दिन आउने जाने बसबाटै गर्नुहुन्छ । कहिलेकाहीँ त श्रीमान्लाई भने पनि हुन्छ नि ।”

“तपाईंहरूको सम्बन्ध राम्रो छैन हो ।”

“मेरो बुढाले त मलाई आउन जान गाह्रो हुन्छ भनेर गाडी किनिदिएको छ ।”

साथीहरूका यस्ता कुराहरू सुन्नु र बहाना गर्दा गर्दा थाकेको म । किन नभनून् साथीहरूले पनि । कति दिनसम्म सकिन्छ र कुरालाई लुकाउन । 

माया प्रेम भन्ने नै नाटक लाग्न थालिसकेको छ अब मलाई । उसलाई मन लागेको बेला राति ओछ्यानमा आएर उसको शारीरिक भोक मेटाउनु मात्रै हो माया ? महिलाहिंसा विरुद्ध आवाज उठाउने । महिला हकहितका लागि सबै हातमा हात मिलाएर अगाडि बढ्नु पर्छ जस्ता कुरा खोक्रो लाग्न थालिसकेका छन् । हकहितका कुरा केवल फेसबुक र कागजमा सीमित छन् । 

“मामु, साह्रै भोक लाग्यो । बाबा अझै आउनु भएको छैन । के गर्ने अब ।” निन्याउरो मुख पारेर भन्छे छोरी ।

“पख म बाहिर गएर केही खाना लिएर आउँछु,” भनेर निस्किदिन्छु । 

“श्रीमान् घरमा हुनुहुन्न र यति बेला एक्लै आउनु भाको ?” होटेलवाला साहु, तलदेखि माथिसम्म घुरेर हेर्दै प्रश्न गर्छ ।  केही नकिनी त्यहाँबाट फर्किदिन्छु म । 

“नानु हामी दुई मिलेर खाना बनाएर खाउँ हुन्छ ?” भान्सा कोठाबाटै भन्छु । 

“तपाईंले त आज भान्सामा जानु हुँदैन नि,” अचम्म मान्दै भन्छे छोरी ।

“अबदेखि हुन्छ छोरी, महिनामा तिसै दिन खाना बनाउन,” स्टोभमा भात पकाउँदै भन्छु ।

छोरी मलाई एकोहोरो हेरिरहन्छे । थाहा छैन उसको मनमा के कुरा खेलिरहेको छ । खाना पकाउँदै गर्दा ऊ पनि खुसी हुँदै मसँगै आएर मलाई मद्दत गर्छे । 

“होइन तैँले गर्न खोजेकी के ? माइतीले सिकाएर पठाएका होला होइन यो सब ? तेरो कारण मेरो बाउआमासँग अलग बस्नु प-यो र अबबाट त झन् यो घरको पानीसमेत चल्दैन उहाँहरूलाई । यो सब थाहा पाउने हो भने मलाई के भन्लान् सबैले ? माइती गतिला भए पो राम्रो संस्कार सिक्छेस् त,” ढोकैबाट उफ्रँदै कोठातिर छिर्छ । 

मेरो आँखा फेरि त्यही भित्तामा झुन्डिएको फोटोमा गएर अड्किन्छ, जसमा १९ वर्ष पहिला उसले मेरो सिउँदोमा सिन्दुर हाल्दा खिचिएको थियो । भित्ताबाट उक्त फोटोलाई निकालेर डसबिनमा फ्याँकी दिन्छु । 

“नानु तिम्रो मामुले भोलि एउटा निर्णय लिँदै छे । के तिमीले मेरो साथ दिन्छौँ ?” म प्रश्न गर्छु । एक्कासि सोधिएको प्रश्न देखेर छोरी जिल्ल पर्छे !