• ९ मंसिर २०८१, आइतबार

श्रमिकको न्यूनतम पारिश्रमिक बढाइयो

blog

काठमाडौँ, भदौ २ गते । नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपियाँ रहेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको सरकारले अन्तिम निर्णय लिएको हो । श्रमिकले महँगी अनुसार श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पु-याउनुपर्ने अडान राख्ने र रोजगारदाताले आर्थिक मन्दीले उद्योग बन्द हुने अवस्थामा पुगेका बेला पारिश्रमिक बढाउन नसकिने भनेर टसमस नभएपछि सरकारले श्रम ऐनलाई टेकेर यसअघिको भन्दा थप दुई हजार ३०० रुपियाँ वृद्धि गरेको छ । 

मन्त्रालयका अनुसार आंशिक समय मात्र काम गर्ने श्रमिकको अब न्यूनतम पारिश्रमिक ९५ रुपियाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपियाँ प्रतिघण्टा रहेको थियो । त्यस्तै श्रमिकको मासिक पारिश्रमिक बढाएर १७ हजार ३०० रुपियाँ पु-याइएको छ । मन्त्रालयका अनुसार अब चिया बगानबाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३०० रुपियाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० पु-याइएको हो । यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता पाँच हजार ६१५ रुपियाँ रहेको थियो ।

चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपियाँ पुगेको छ । यसअघि चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१ रुपियाँ रहेको थियो । हालको वृद्धिसँगै चिया वगानमा काम गर्ने श्रमिकको दैनिक पारिश्रमिक ५०० रुपियाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपियाँ थियो । 

मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । २०७८ साउनयता श्रमिकको पारिश्रमिक वृद्धि नगरिएका कारण आगामी चालु आर्थिक वर्षका लागि जसरी पनि वृद्धि गर्नुपर्ने दबाब सरकारलाई थियो । सरकारले गठन गरेको न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई राष्ट्र बैङ्कले दिएको तथ्याङ्कका आधारमा समितिले सो रकम बराबर पारिश्रमिक वृद्धि गर्न सक्ने देखिएको छ । केन्द्रीय बैङ्कले विगत दुई वर्षमा १४.२ प्रतिशतका दरले मूल्य वृद्धि भएको तथ्याङ्क समितिलाई बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव एवं सो समितिका संयोजक डण्डुराज घिमिरेले सरकारले राष्ट्र बैङ्कको महँगीको तथ्याङ्कलाई आधार बनाएर श्रमिकको पारिश्रमिक बढाइएको बताउनुभयो ।