• ३१ वैशाख २०८२, बुधबार

नेपाल–बङ्गलादेश विद्युत् व्यापार छिट्टै

blog

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताउनुभएको छ। 

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहको शक्रबार उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षभित्र बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबिच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। 

प्रधानमन्त्री प्रचण्डले हाल भइरहेको ४५० मेगावाट विद्युत् निर्यातलाई बढाएर १० हजार मेगावाट पु-याउन सम्झौता भइसकेकाले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बङ्गलादेश विद्युत् व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने वातावरण बनेको बताउनुभयो। 

पहिलो पटक प्रधानमन्त्री हुँदा मेगा परियोजना बनाउने सोचेको बताउँदै उहाँले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त र कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउन लागेको जानकारी दिनुभयो। 

नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु-याउने गरी भारतसँग प्रारम्भिक हस्ताक्षर भइसकेको भन्दै उहाँले अर्को छिमेकी मुलुक चीनसँग पनि ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने बताउनुभयो। “आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु-याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबिच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत् व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ।”

उहाँले नेपालमा जलविद्युत् लगानीको थप उपयुक्त वातावरण निर्माण भएको र दीर्घकालीन विद्युत् व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न एवं विश्वसनीय कार्ययोजना तर्जुमा गर्न हौसलाका साथ सम्बन्धित मन्त्रालय र सबै सरोकारवाला निकायको समन्वयपूर्ण योगदान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।