• २९ वैशाख २०८१, शनिबार

पूर्व कप्तान पारस क्रिकेट राजनीतिमा प्रवेश

blog

पूर्व कप्तान पारस खड्का ।

काठमाडौं, साउन ३१ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।

क्यानको पदाधिकारी बन्ने पारसको इच्छा दुई वर्षपछि पूरा भएको छ । क्यानको आसन्न निर्वाचनका लागि अहिले धमाधम जिल्ला निर्वाचन भइरहेको छ । सोही क्रममा पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा निर्वाचित हुनुभएको छ ।

सङ्घको मङ्गलबार काठमाडौँमा भएको निर्वाचनबाट सर्वसम्मत सदस्यमा चुनिएसँगै पारसलाई क्यानको केन्द्रीय पदाधिकारीमा आउने बाटो खुलेको हो । क्यानको विधान अनुसार जिल्ला हुँदै आउनुपर्ने भएकोले पारसले अब प्रदेश र केन्द्रको कुनै पनि पदमा निर्वाचन लड्न पाउनुहुनेछ ।


यसपटक पारसले बागमती प्रदेशको अध्यक्षमा लड्ने तयारी गर्नुभएको छ । क्यान अन्तर्गत बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, चितवन र मकवानपुर गरी ६ जिल्ला आबद्ध छन् । ६ वटै जिल्लाको निर्वाचन सकिएको छ । 

क्यानले जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० गतेसम्म र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते गर्ने यसअघि नै घोषणा गरिसकेको छ । काठमाडौं जिल्ला क्रिकेट सङ्घको मङ्गलबार भएको निर्वाचनले दिवाकर घलेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

घले क्यानका पूर्व उपाध्यक्ष हुनुहुन्छ । सङ्घको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनितध्वज चन्द सर्वसम्मत चयन हुनुभयो । 

यस्तै सदस्यहरुमा पूर्वकप्तान खड्कासँगै पूर्वक्रिकेटर अमृता पौडेल, मनीषकुमार ढुङ्गेल, अरुण सत्याल, विजय शर्मा, रितेश डङ्गोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चुनिनुभयो ।