जानु पाण्डे
कपिलवस्तु, साउन ३१ गते । सवारी चेकजाँचमा कडाई गरेपछि कपिलवस्तुमा गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ ।
नियन्त्रणमा लिएका मोटरसाइकल तत्काल छोड्न नमानेपछि गाउँपालिकाले विज्ञप्ति निकालेर विरोध जनाएको छ । चेकजाँचको नाममा स्थानीयलाई दुःख दिने काम भएको भन्दै प्रहरीलाई दिंदैआएको सहयोग बन्द गरिएको छ ।
प्रहरीका अनुसार आइतवार राति अन्दाजी ८ वजे इलाका प्रहरी कार्यालय पकडीले चेकजाँच गर्ने क्रममा २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक समूह र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुलसहित अन्य मोटरसाइकल कागजातविना चलाएपछि इप्रका र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो ।
दुबै चालकले लाइसेन्स र ब्लु बुक घरमा छुटेको बताएपछि प्रहरीले शङ्काको दायरामा राखेको थियो । चालकहरुले केहीबेर फोन गरेपछि मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्धीन मुसलमान, वडा १ का अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा ३ का अध्यक्ष शैलेन्द्रकुमार यादव, वडा ४ का अस्फाक अहमद मुसलमान र वडा ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमानसहितको टोली चेकजाँच स्थल पुगेको थियो । उहाँहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ ।
जनप्रतिनिधिले दवबब दिएपछि प्रहरीले कागजात नहेरी कागजपत्र साथमा नभएको जनाउँदै ५ सय रुपियाँ जरिवाना तिराएको थियो । जरिवाना तिरेपछि प्रहरीले मोटरसाइकल छाडेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले सवारी चेकजाँच गर्दा जरिवाना लिएको र घटना सामान्य रहेको बताउनुभयो ।
यता, मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्धीन मुसलमानले चेकजाँचको नाममा दुधे वबालक र महिलाले सास्ती पाएको गुनासो आएको बताउनुभयो । प्रहरी र जनप्रतिनिधिवीच राम्रो सम्वन्ध हुनुपर्नेमा स्थानीयलाई दुःख दिने काम भएको थियो । इप्रका प्रमुख प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीलाई कारवाही हुनुपर्ने अध्यक्ष मुसलमानको माग छ ।
गाउँपालिकाले इलाका प्रहरी कार्यालय पकडी मातहतको अस्थायी प्रहरी चौकी विजुवाको भवनको भाडा तिर्दैआएको थियो । सोमबार कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवा सुविधा रोक्ने निर्णय गरेको जनाएको छ । प्रहरीको असहयोगको कारणले सेवा कटौती भएको अध्यक्ष मुुसलमानले बताउनुभयो ।
प्रहरीलाई उपलब्ध गराउने सेवा सुविधा रोक्ने विषयमा आफूलाई जानकार नभएको प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताउनुभयो । बिजुवा प्रहरी चौकीको भाडा पालिकाले बेहोर्ने नभएपछि प्रहरी चौकी रहने नरहनेमा अन्याेल छ । इप्रकाले अस्थायी प्रहरी चौकी कायम राख्न स्थानीयसँग छलफल गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।