लक्ष्मण पौडेल
भैरहवा, साउन २७ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमै ४० लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रबार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याएका विविध सामग्रीलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
जसमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं.६ बेथरीबाट २७ लाख ४७ हजार चार सय बराबरको अवैध सामग्री बरामद गरिएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नं.को ट्रकलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा थानको कपडा १५ सय १४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस, लेङ्गा पाँच पिस, पेटिकोट ६ पिस, सल २७ पिस, लुङ्गी १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुती साडी ९२ पिस र टप्स ४६ पिस सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकले जानकारी दिनुभयो ।
यस्तै, बिहीबार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार दुईसय बराबरको सामान बरामद भएको छ । एसपी विकका अनुसार इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नं. पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला एक बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप एक बोरा नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने ट्रकचालक जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १३ बस्ने वर्ष ४० का लाल बहादुर विक, पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३७ का सङ्गीत कुमार खरविन र बरामद सामान, सवारी साधनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
एसपी विकले गैरकानुनी काम गर्ने जो कसैलाई पनि नछाड्ने बताउनुभयो । अवैध रूपमा हुने गतिविधिलाई निरुत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ ।