• ९ मंसिर २०८१, आइतबार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मधुगङ्गा महादेव मन्दिर

blog

फाइल तस्विर ।

बाबुराम देवकोटा

हत्पते (सिन्धुली), साउन २४ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका-२ हत्पते लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । 

प्रत्येक वर्ष साउन महिनाभरि मेला लाग्ने उक्त मन्दिरमा यो वर्ष पनि छिमेकी जिल्लासहित भारतका विभिन्न ठाउँबाट पहेँलो गेरु रङ्गको वस्त्र लगाई आएका हजारौं श्रद्धालु भक्तजन आएका छन् । छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामढी, मधुबनीलगायतका सहरबाट हजारौँको सङ्ख्यामा आउने श्रद्धालु भक्तजनहरुको लागि उक्त मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार उक्त मन्दिरमा साउन महिनाभरि बोलबम मेला लाग्ने भए पनि सोमबारका दिन भक्तजनको उपस्थिति थामी नसक्नु हुन्छ । शुद्ध मनले निराहार बसी महादेवको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा हुने विश्वासले भक्तजनको भीड लाग्ने गरेको हो ।

मन्दिरका पुजारी लोकबहादुर थापाले यो वर्ष साउन लागेकै दिनदेखि पहेँलो गेरु वस्त्र लगाई आएका हजारौं श्रद्धालु भक्तजनको उपस्थितिमा  लाग्न सुरु गरेको बताउनुभयो । उहाँ भन्नुभयो, “सन्तान, धन, शिक्षा प्राप्ति र कुनै रोगव्याध हटाउनका लागि भक्तजन महादेवको दर्शन गर्न आउने गरेका छन् । महादेवप्रतिको विश्वासले नै भक्तजनको भीड लाग्ने गरेको हो ।” 

श्रद्धालु भक्तजनकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भइसकेको छ । स्थानीय बासिन्दाका अनुसार त्यसो त विकट जङ्गलको अनकन्टार कुनामा रहेको उक्त महादेव मन्दिरमा जान तराईका जिल्लाबाट आएका बोलबम भक्तजनलाई गतवर्ष कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएसँगै सजिलो भएको छ ।

भक्तजनहरूबाट वर्षेनी ७ देखि १० लाख रुपियाँसम्म भेटी जम्मा हुने गरेको छ र उक्त भेटीबाट हालसम्म मन्दिर परिसरमा सातवटा धर्मशालाको  निर्माण सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पक्की पुल निर्माण हुनुअघि तराईबाट आउने भक्तजनहरुले कमलामाई नगरपालिका–१४ चन्दनपुरमा पुगेपछि हेलिएर कमला नदी पार गर्नुपर्ने बाध्यता थियो । जस्का कारण वर्षेनी दुई-चार जना भक्तजनको कमला नदीले बगाएर ज्यान जाने गरेको स्थानीयले जनाएका छन् ।  

यस वर्ष मेलाको व्यवस्थापन दूधौली नगरपालिका आफैंले मिलाएको छ । सडकको ठाउँ–ठाउँमा स्वास्थ्य शिविर, सुरक्षाकर्मी परिचालन, स्टललाई व्यवस्थित गर्ने, स्वयंसेवक परिचालन, सौर्यबत्ती जडान, पार्किङको व्यवस्था लगायतको तयारी गरिएको दुधौली नगरपालिका–२ का अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो ।

मधुगङ्गा महादेव मन्दिरलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले बृहत् गुरुयोजना नै बनाई त्यसै अनुसार काम गर्न सुरु गरेको उहाँको भनाइ छ । साउन महिनामा लाग्ने बोलबम मेलाका कारण स्थानीय बासिन्दाको आय आर्जनमा समेत वृद्धि भएको पाइन्छ । भक्तजन हिँड्ने बाटोको दायाँबायाँमा राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका स्थानीय बासिन्दा रेखराज दाहालले जानकारी दिनुभयो ।