• ७ जेठ २०८१, सोमबार

पारोलाई हराउन मच्छिन्द्र तयार

blog

खेलअघि आयोजित ‘प्रिम्याच कन्फेरेन्स’ मा मच्छिन्द्रका प्रशिक्षक र कप्तान । तस्बिर : केशव गुरुङ

काठमाडौं, साउन २२ गते । एएफसी कप प्रारम्भिक चरणको छनोट खेलमा नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले मङ्गलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा साँझ ५:३० गते सुरु हुने खेलका लागि आफ्नो टोलीको सम्पूर्ण तयारी पूरा भएको मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले बताउनुभयो ।

‘‘हामीले आफ्नो तयारी पूरा गरेका छौँ । मच्छिन्द्रका खेलाडी पारोसँग खेल्न तयार छ । टोलीका राम्रा खेलाडी अनुबन्ध भएकोले खेल जित्नेमा विश्वस्त छौँ । तर प्रतिपक्ष भुटान पनि कमजोर छैन । उसका विदेशी तीन जना खेलाडी धेरै राम्रा छन् । कुनैपनि प्रतिपक्षलाई हामीले सम्मान गर्नुपर्छ,’’ सोमबार आयोजित ‘प्रिम्याच कन्फेरेन्स’ मा प्रशिक्षक केसीले भन्नुभयो । 

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि टोलीमा अनुभवी र राम्रा खेलाडी रहेकोले घरेलु मैदानमा जित निकाल्ने बताउनुभयो । ‘‘शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता बनेपनि हामीले एएफसी कप खेल्ने अवसर पाएका छौँ । पारो बलियो टोली हो । हामीले पछिल्लो दुई साता राम्रो तयारी गरेका छौँ । हामी राम्रो खेल्दै नेपालका क्लब फुटबलको खस्किएको क्रेजलाई माथि उकास्ने प्रयास गर्नेछौँ,’’ कप्तान श्रेष्ठले भन्नुभयो ।

नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो ।मच्छिन्द्रले पारोविरुद्ध खेल्न टोलीमा आवश्यकता अनुसार सातजना खेलाडी अनुबन्ध गरेको छ । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै खेलेको थियो । तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । 

यसैगरी पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले मच्छिन्द्रसँग खेल्न राम्रो तयारी गरेर आएको बताउनुभयो । ‘‘भुटानमा लिग भईरहेकोले खेलाडीको तयारी राम्रो छ । टोलीका सबै खेलाडी फर्ममा छन् । तर नेपालको मच्छिन्द्र बलियो टोली हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रले राम्रो खेल्नेछ । हामी पनि कडा टक्कर दिने पक्षमा छौं,’’ प्रशिक्षक शर्माले भन्नुभयो ।  

पारोका कप्तान किनले वाङचुकले मच्छिन्द्र बलियो टोली भएकोले सजग भएर खेल्न बताउनुभयो । ‘‘हामी सबैले सतप्रतिशत दिएर खेल्नेछौं । मच्छिन्द्रको खेलपछि मात्र अगाडिको बारेमा सोच्नेछौं,’’ वाङचुकले भन्नुभयो । मच्छिन्द्र र पारो एफसी बीचको विजेताले दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।

मच्छिन्द्रको टोली 

गोलरक्षक : विशाल श्रेष्ठ (कप्तान), प्रदिप भण्डारी र लुज महर्जन

रक्षक : सनिश श्रेष्ठ, ओमोलाजा करिम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक

मिडफिल्डर : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई

स्ट्राईकर : विमल घर्तीमगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा, विजय भुजेल र मेसुके ओलोमोउ ।