• १ जेठ २०८२, बुधबार

शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने

blog

ललितपुर, साउन २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले शान्ति प्रक्रियालाई सधैँका लागि टुङ्ग्याउनुपर्ने उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी सशस्त्र द्वन्द्वबाट पीडितलाई समाजमा पुनः स्थापित गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो।

राष्ट्रिय मानवअधिकार आयोगले स्थापना गरेको मानवअधिकार अभिलेखालयको शुक्रबार उद्घाटन गर्दै उहाँले सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी काम टुङ्गोमा पु¥याउन नसक्दा पीडित थप पीडामा पर्ने अवस्था सिर्जना भएको बताउनुभयो। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “नेपाल द्वन्द्वमा छ, नेपालले शान्ति प्रक्रियाको काम टुङ्ग्याउन सक्दैन भन्ने भ्रमपूर्ण सन्देश गलत हो। त्यसकारण यसलाई टुङ्ग्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ।”

शान्ति प्रक्रियाका काम बाँकी छन् भनेर द्वन्द्वका घाउलाई कोट्याइरहनु पनि एक किसिमले मानव अधिकारको उल्लङ्घन हो भन्दै उहाँले सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गर्नुभयो।

सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री शर्माले सबै पक्षको सहमतिमा विधेयक पारित हुने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अहिले संसदीय समितिमा पुगेको जानकारी दिनुभयो। अभिलेखालयमा सङ्गृहीत दस्ताबेजलाई डिजिटलाइजेसन गर्न आयोगलाई सुझाव दिँदै उहाँले सो कार्यका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आयोग संविधानतः शक्तिशाली भए पनि यसले आफ्नो अधिकार, शक्ति र हैसियत बुझ्न नसकेको टिप्पणी गर्नुभयो। संविधान र कानुनले दिएको अधिकार व्यवहारमा प्रयोग गर्न नसक्दा आयोगको भूमिकामाथि नै प्रश्न उठ्न थालेको बताउनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर आयोगसँग सहकार्य गर्न तयार रहेको बताउँदै आयोगको आफ्नै भवन निर्माण गर्न महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले अभिलेखालयमा आयोगले स्थापनादेखि अहिलेसम्म गरेका महत्वपूर्ण कामको अभिलेख राखिएको उल्लेख गर्नुभयो। अभिलेखालयमा १० वर्षे सशस्त्र द्वन्द्वकालमा आयोगले गरेका अनुगमनका क्रममा प्रयोग गरेका सामग्री, अनुगमनका क्रिममा आयोगले फेला पारेका गोलीका खोका, एम्बुसमा परेका गाडीलगायतका सामग्री राखिएका छन्।