• ३० वैशाख २०८२, मङ्गलबार

बाली विज्ञानमा निःशुल्क शिक्षण

blog

दोलखा समाचारदाता

दोलखा, साउन १२ गते । भीमेश्वर नगरपालिका–४ मा रहेको सर्व माध्यमिक विद्यालयले सुरु गरेको तीनवर्षे बाली विज्ञान (प्राविधिक धार) मा नगरका विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका छन्। 

सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आउन थालेपछि यो अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज चौलागाईंले जानकारी दिनुभयो।  उहाँका अनुसार यो प्राविधिक धार तीन वर्षअघि नगरपालिकाको पहलमा सिटिइभिटीबाट स्वीकृत भई सञ्चालनमा आएको हो। 

४० जना विद्यार्थीको कोटा भए पनि विद्यार्थी थोरै हुने गरेका छन्। अब भने भीमेश्वर नगरपालिकाका विद्यार्थीलाई निःशुल्क र बाहिरबाट आउनेलाई भर्ना पाँच हजार र मासिक एक हजार रुपियाँमा शिक्षण दिन लागिएको हो। आवास पनि निःशुल्क रहेको छ। 

विसं २०७० देखि कक्षा ९ र १० मा कृषि प्राविधिक धारमा पढाइ हुँदै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौलागाईंले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रम पनि सञ्चालनमा छ। अहिलेको विद्यमान स्थिति हेर्दा कृषिलाई नै प्राथमिकता दिनुपर्ने देखिएको छ। कृषिमा आकर्षित तुल्याउन दक्ष जनशक्ति उत्पादन गर्नु टड्कारो आवश्यकता देखिएको छ।” प्रधानाध्यापक विश्वमणि चौलागाईंका अनुसार विद्यालयमा कक्षा १–१० मा दुई सय विद्यार्थी अध्ययनरत छन्। तीनवर्षे बाली विज्ञानमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन्।