काठमाडौं, साउन ११ गते । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार गरेको खेल तालिका ‘ड्र’ अनुसार नेपालले पहिलो चरणको खेलमा लाओस प्रतिद्वन्द्वी पाएको हो । होम एन्ड अबे प्रणालीमा दुई खेल खेलेपछि विजेता टोली दोस्रो चरणको छनोट खेलमा प्रवेश गर्नेछ ।
नेपाल र लाओसको पहिला खेल अक्टोबर १२ र दोस्रो खेल अक्टोबर १७ तारिख हुनेछ । एएफसीले एसियाली देशको फिफा वरीयतामा रहेका २७ देखि ४७ वरीयताका २० टोलीलाई पहिलो चरणको छनोट खेलमा समावेश गरेको हो ।
विजेता १० टोली र शीर्ष १६ वरीयता गरी ३६ टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा सहभागी टोलीलाई नौ समूहमा विभाजन गरी होम एन्ड अबे प्रणालीकै आधारमा प्रतिस्पर्धा गराइनेछ ।
यसबाट १८ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । तेस्रो समूहको शीर्ष दुई टोली सोझै विश्वकपमा छनोट हुनेछन् । एजेन्सी