• १३ साउन २०८१, आइतबार

सकियो रोपाइँ, हरियो बन्यो माडीफाँट

blog

पाल्पाको माडीफाँटमा हरियो बनेको रोपाइँ । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, साउन ११ गते ।
 पाल्पामा ९० प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ हालसम्म ९० प्रतिशत सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

पर्याप्त पानी परेका कारण पाल्पाको अधिकांश भूभागमा रोपाइँ सकिएको हो । पाल्पाको माडी, कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूको अधिकांश भूभागमा धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

पाल्पामा आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । हिउँदे धानको खेती भने ७२० हेक्टरमा मात्र हुँदै आएको छ । यो वर्ष हिउँदे धान खेती २० प्रतिशतले घटेको छ ।


पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको छ । पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो ।