• १४ पुस २०८१, आइतबार

अनुमतिबिनै मेडिकल सञ्चालन

blog

औषधि पसलको अनुगमन हुँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन ११ गते ।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा अनुमतिबिनै मेडिकलहरु सञ्चालन भइरहेको पाइएको छ । सिमकोटमा सञ्चालित मेडिकलहरुको अनुगमन गर्ने क्रममा यस्ताे पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीको संयोजकत्वको टोलीले सिमकोटमा व्यवसाय गर्दै आएका औषधि पसलहरुको अनुगमन गरिएका छन् । प्रजिअ सुवेदीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र रहेको भन्दै अनुमति प्राप्त अनुसार मेडिकलहरु सञ्चालनमा भए नभएको जानकारी लिनका लागि सो अनुगमन कार्य गरिएको बताउनुभयो ।

प्रजिअ सुवेदीले अनुगमनका क्रममा सिमकोट बजारमा हालसम्म चारवटा औषधि पसल रहेको र तीमध्ये एउटा मात्रै पर्याप्त प्रमाणका साथ दर्ता भई सञ्चालनमा रहेको र अन्य तीन वटा मेडिकल दर्ता नभइ सञ्चालन भइरहेको भेटिएको बताउनुभयो ।

अनुगमनका क्रममा औषधि पसल नवीकरण नगरेको, व्यवसाय दर्ता नभएको, प्यान तथा भ्याटमा दर्ता नभएको, मूल्यसूची नटाँसेको जस्ता गर्नै पर्ने काम पनि नगरिएको पाइएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले एक हप्ताभित्र प्रक्रियागत रुपमा दर्ता गरी जिल्ला प्रशासन कार्यालयमा प्रमाणपत्र नबुझाएमा ती सबै औषधि पसललाई बन्द गरिने चेतावनी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा सञ्चालित फार्मेसी, मेडिकलहरुको अनुगमन गरिएको हो । औषधि पसलको अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय  सिमकोट गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।