• ९ मंसिर २०८१, आइतबार

विद्युत आपूर्ति बढाउन प्रसारण लाइनको रिङ बन्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ११ गते। नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी क्षेत्रमा उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँच वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बनाउने भएको छ । 

औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने प्राधिकरणले जनाएको हो । 

नेपाल विद्युत् प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक कोरिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन चाल अवस्थामा छन् । 

सुनवल सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गर्नुभएको छ । 

घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताउनुभयो । उहाँले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुई वटा फिडर निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिनुभयो । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरबाट त्यस क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिल उद्योगसहित स्थानीय रूपमा विद्युत् आपूर्ति भइरहेको थियो । साथै सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ । 

परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिललगायतका ठुला तथा साना उद्योगले अहिले करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन् । 

सञ्चालित उद्योगको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा ११५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण छ । रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान छ । 

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी कोरिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ । कालीगण्डकी कोरिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । 

हेटौँडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबिच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठुलो विद्युत् हब बन्ने छ । 

हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल) तर्फ विद्युत् प्रवाहका लागि समस्या छ । हेटौँडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुने जनाइएको छ ।