• ९ मंसिर २०८१, आइतबार

रोडको व्यापार करोडसम्म

blog

कविराज घिमिरे

हिले, साउन ११ गते । धनकुटा नगरपालिका–९, गुठीटारका पदमबहादुर राई गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नुहुन्छ । उहाँले करिब पाँच रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आउनुभएको छ । 

उहाँ आफैँ उत्पादन गर्नुहुन्छ, आफैँ बिक्री गर्नुहुन्छ । कहिले मूल्य एक सय रुपियाँसम्म पुग्छ कहिले १५/१६ रुपियाँमा पनि बिक्री गर्नु पर्छ तर बजारको समस्या भोग्नु परेको छैन । “जति उत्पादन हुन्छ, आफैँ बिव्रmी गरिन्छ, कमिसन खुवाउनु पनि पर्दैन” राई भन्नुहुन्छ । राईले वार्षिक तीन लाखभन्दा बढीको टमाटर बेचेर घरव्यवहार चलाउँदै आएको बताउनुभयो ।

कृषकलाई उत्पादनपछिको चुनौती हो बजार । उत्पादनपछि कहाँ लगेर कसरी बच्ने ? कृषकको चिन्ताको विषय बन्न पुग्छ तर धनकुटा कोशी राजमार्ग आसपासका कृषकको लागि भने राजमार्ग नै ठुलो बजार बनेको छ । धेरैले राजमार्ग आसपास उत्पादन गर्छन् अनि राजमार्गमै बिक्री गर्छन् ।

धरान–धनकुटा र धनकुटा–हिले सडकखण्डलाई यहाँका किसानले आफ्ना कृृषि उपज बिक्री गरेर जीविकोपार्जन गर्ने आधारका रूपमा प्रयोग गदैँ आएका छन् । राजमार्गको भेडेटारदेखि धनकुटाकै व्यापारिक केन्द्र हिले बजारसम्मको करिब ४५ किमी सडक  क्षेत्रमा व्यापार गरेर अहिले दर्जनौँ किसानले जीवन गुजारा गरिरहेका छन् । सुनसरी, मोरङ, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट यातायातमा आवतजावत गर्ने यात्रु उनीहरूका मुख्य ग्राहक हुने गरेका छन् । यसरी बिक्री गर्नेहरू कुनै महिना खाली बस्नु पर्दैन । “यहाँ हामी सिजन अनुसारको व्यापार गर्छौं, कहिले आँप हुन्छ, कहिले उख,ु कहिले बेल त कहिले सजिवन,” धनकुटा नगरपालिका–९, मलघाटका बिन्द्रमान लिम्बू भन्नुहुन्छ । “कोही कृषक आफैँ आएर यहीँ बसेर दिनभरि बेच्छन् त आफू नभ्याउनेहरू व्यापारीमार्फत बेचाउँछन्” लिम्बू थप्नुहुन्छ ।  

धनकुटाको मूलघाटमा मात्र एक सयभन्दा बढीले यसरी व्यापार गर्दै आएका छन् । भेडेटारदेखि हिलेसम्म भने दुई सयभन्दा बढीले यसरी व्यापार गर्दै आएका छन् । अफ सिजनमा चार हजारसम्म र सिजनमा दैनिक १५ देखि २० हजारसम्मको सब्जी तथा फलफूलको कारोबार हुन्छ । हेर्दा रोडको व्यापार देखिन्छ तर यही रोडमा बसेर स्थानीयले करोडसम्मको व्यापार गर्ने गरेका छन् । राम्रो व्यापार गर्नेले त करोडसम्मको व्यापार गर्ने गरेको धनकुटा नगरपालिका–९, मलघाटका नवीन घिमिरे बताउनुहुन्छ । 

यहाँ स्थानीयस्तरमा उत्पादित मौसम अनुसारका ताजा तरकारी तथा फलफूल तराई र पहाडी जिल्लाका यात्रुले कोसेली तथा घरायसी प्रयोजनका लागि लाने गरेका छन् । आफैँ उत्पादन गरेर वा छिमेकबाट सङ्कलित कृषि उपजलाई बेचेर यहाँँका किसान घरव्यवहारमा टेवा पु¥याउनेदेखि लिएर घरघडेरी जोड्न सफल भएका छन् । यसरी बेच्दा कृषकलाई धेरै फाइदा पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना बताउनुहुन्छ । गुणस्तरमा भने ध्यान दिनुपर्ने उहाँको जोड छ । 

यहाँ सिजन अनुसारको व्यापार हुन्छ । धनकुटा र हिलेबिचमा बाहै्र महिना सब्जीको व्यापार हुने गरेको छ । तिहार आसपास फूलको व्यापार हुन्छ । त्यस्तै धनकुटा नगरपालिका–९ स्थित धरान–धनकुटा सडकखण्डमा पर्ने गुठीटार क्षेत्रका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी किसान परिवारले टमाटर (गोलभेँडा) बेच्ने गरेका छन् । उनीहरूले सडकखण्डसँगै सोही वडामा रहेको टमाटरको पकेट क्षेत्र बेलहारा गाउँमा आफू र गाउँलेले उत्पादन गरेको टमाटर बेच्ने गरेका छन् । धनकुटा नगरपालिकाको मूलघाट आँप र सजिवन (मोरिङ्गा) को पकेट क्षेत्र हो भने गाउँपालिकाको लेउतीटार उखुडाँडा उखुको पकेट क्षेत्र हो । मूलघाटमा सिजन अनुसार आँप, उखु, बेल, सजिवन आदिको व्यापार हुन्छ । मूलघाटदेखि भेडेटारसम्म पनि फलफूल र सब्जीको व्यापार हुने गरेको स्थानीय बताउँछन् ।