• ३० वैशाख २०८२, मङ्गलबार

चितवन निकुञ्जको सडक मर्मत

blog

शालिग्राम नेपाल 

चितवन, साउन १० गते । भरतपुरबाट माडी प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु भएको छ। हुलाकी सडकखण्ड अन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो। यो भत्केर आवतजावत गर्न समस्या भएपछि मर्मत सुरु गरिएको हो।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्रको सडकमा काम गर्न जटिल भएको बताउनुभयो। उहाँले सडकमा परेको खाल्टो, भत्केको स्थानमा पुरेर यातायात सहज बनाउन लागिएको जानकारी दिनुभयो।  

नगरपालिकाको आन्तरिक स्रोतमा सोमबारदेखि एक हप्ताभित्रमा सडक मर्मत सक्ने गरी काम भइरहेको छ। भरतपुरबाट प्रवेश गर्ने कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्टाखुल्टी पुर्ने र सम्याउने काम गरिने प्रमुख महतोले जानकारी दिनुभयो। सङ्घ र प्रदेशमा बजेट माग गरे पनि नपरेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सडक मर्मत गर्न लागेको उहाँले बताउनुभयो। 

सडकखण्डको कालोपत्रेसहित स्तरोन्नतिका लागि हरेक चुनावको नारा बन्दै आएको छ। निर्वाचनको समयमा सडकको विषय उठे पनि अन्य समयमा जनप्रतिनिधिले यसको बहस गर्ने गरेका छैनन्। यहाँ सडक कालोपत्रेका लागि चितवन राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताउनुभयो। सडक निर्माणका लागि पटक पटक सङ्घीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्ज र माडी नगरपालिकाको समन्वयमा अहिले मर्मतको काम भइराखेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले सडकको मर्मत गर्ने काम गर्दछ। पछि झाडी फाँड्ने र सरसफाइ निकुञ्ज र मध्यवर्तीले गर्ने छ।”  

कच्ची सडकबाट वारपार गर्दा वन्यजन्तुको जोखिम धेरै हुने गरेको छ। कालोपत्रे भएमा छिटो यात्रा गर्न सक्ने र जोखिम कम हुने स्थानीयले बताएका छन्। निकुञ्ज पारि माडी नगरपालिका र वारि भरतपुर महानगरको क्षेत्रको मुख्य सडक कालोपत्रे भएको छ। निकुञ्जभित्रको मात्र सडक कालोपत्रे बाँकी रहेको छ। 

यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगन्जसम्म पुग्छ। भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ। तर निकुञ्जभित्रको बाटो सहज नभएका कारण स्थानीय कष्टकर यात्रा गर्न बाध्य छन्।