• २८ असार २०८२, शनिबार

नेताको सम्पत्ति छानबिन गर्न प्रस्ताव

blog

काठमाडौँ, साउन १० गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गर्नुभएको छ। 

४१ औँ बीपी कोइराला स्मृति सप्ताहका सन्दर्भमा मङ्गलबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा मन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममै नेताहरूको सम्पत्ति छानबिन गर्ने भएकाले यसका निम्ति आयोग गठन गर्नुपर्ने बताउनुभएको हो। 

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने सन्दर्भमा काम अघि बढाउन आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रीको हैसियतले प्रधानमन्त्रीलाई आग्रह गरेको छु। एकपछि अर्को फाइल खोल्दै जाने हो, जो पर्छन् पर्छन्। भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो।”

मन्त्री गुरुङले नीति तथा कार्यक्रममा आएकाले नेपाल सरकारले ढिलो चाँडो उच्च तहका नेताको सम्पत्ति छानबिन आयोग गठन गरेरै छाड्ने बताउनुभयो। साथै उहाँले कांग्रेसभित्रको रूपान्तरणको विषय सिद्धान्त, नीति र व्यवहारबाट हुनुपर्ने बताउनुभयो। 

कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीका नेताहरूलाई एकताबद्ध भएर सङ्गठन निर्माणमा जुट्न आग्रह गर्नुभयो। उहाँले पार्टीको भ्रातृ संस्था, विभाग, शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिएर अघि बढ्नुपर्ने बताउँदै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “कांग्रेस कमजोर भएको छैन। सबैलाई समेटेर नेतृत्व अघि बढ्नुपर्छ। पार्टी सुदृढ हुन्छ।”

डा. कोइरालाले विदेशमा बसेका नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न कांग्रेसले नीति बनाउनुपर्ने बताउनुभयो। उहाँले रेमिट्यान्समा आएको पैसा पनि उचित ठाउँमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

पूर्वमहामन्त्रीको चियापान

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले मङ्गलबार चियापान समारोह आयोजना गर्नुभयो। केन्द्रीय कार्यसमितिको बैठक जारी रहँदा उहाँले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसहित विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको उपस्थितिमा चियापान समारोह गर्नुभएको हो।