• ८ जेठ २०८१, मङ्गलबार

लेटाङमा डेङ्गुका बिरामी बढे

blog

लेटाङ अस्पतालमा उपचार गरिरहेका स्थानीयको भीड । तस्विर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, साउन ८ गते । उत्तरी मोरङको लेटाङमा डेङ्गु सङ्क्रमण दर ह्वात्तै बढेपछि यहाँस्थित नगर अस्पातलमा बिरामीको चाप बढेको छ । ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउनेलगायतका लक्षणसहितका बिरामीको सङ्ख्या एक्कासि बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । 

अस्पतालले बिरामी दर्ता गर्न क्युआर मेसिन जडान गरेको छ । बिरामी दर्ता हुने क्रम छिटो भए पनि उपचारका लागि जनशक्ति नहुँदा बिरामीहरूले सास्ती व्यहोर्नुपरिरहेको छ। हाल नगर अस्पतालले दुई जना मेडिकल अधिकृतसहित ८ जना स्वास्थ्य प्राविधिकबाट बिरामीको उपचार गरिरहेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजालका अनुसार लेटाङमा हरेक दिन डेङ्गुका बिरामी बढिरहेका छन् । साउन ७ गते बेलुकासम्ममा ७५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको रिजालले जनाउनुभयो । चिकित्सकले शङ्का गरेका ४० देखि ५० प्रतिशत बिरामीमा पोजेटिभ लक्षण देखिएको छ । नगरमा डेङ्गुको लक्षण देखन थालेपछि नगरपालिकाले असार २४ गतेदेखि स्वास्थ्य परीक्षणलाई तीव्र पारेको हो । 

पाँच शैयाको सानो अस्पतालको आकस्मिक कक्षमा आएका बिरामीलाई ओपिडी कक्षमै डाक्टरले परीक्षण गरिरहेका छन् । नगरपालिकाले लामखुट्टे मार्न नगर क्षेत्रमा फगिङ गरिरहेको भए पनि फगिङले प्रभावकारी सुधार हुन नसकेको स्थानीयले बताएका छन् ।  

लेटाङ नगरपालिकाले हाल सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गरेको छ । विश्वव्यापी रुपमा यो विधि लामखुट्टे नियन्त्रण गर्न राम्रो र फाइदाजनक मानिन्छ ।