• १३ पुस २०८१, शनिबार

अस्पताल निर्माण अन्योल

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन ८ गते । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटेको सङ्घीय सरकारले बजेटमा छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो। सरकारले स्पष्ट बजेट नतोकिदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन। चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो तर बजेट व्यवस्थापनमा चुनौती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले बजेट तोकेको छैन। अस्पताल निर्माणका काम अघि बढाउन बजेट व्यवस्थापनमा चुनौती बनेको छ।”

एक सय शय्याको अस्पताल निर्माणका लागि डिपिआर भने तयार भइसकेको छ। आठबिस नगरपालिका–३, जाक्सीमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ। अझै १० रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको डा. रावलले जानकारी दिनुभयो। बजेटको सुनिश्चितता नहुँदा बाँकी काम अघि बढ्न नसकेको उहाँको भनाइ छ। डा. रावलले भन्नुभयो, “आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने योजना थियो। लगानी सुनिश्चित नहुँदा अन्य काम ठप्प छन्। बेला बेला सङ्घीय सरकारलाई भन्ने गरेको भए पनि सुनुवाइ भएको छैन।” अस्पतालको भवन निर्माणका लागि मात्रै ७० करोड लाग्ने उपकुलपति डा. रावलले बताउनुभयो।

दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीले बाह्य लगानी भित्र्याएर भए पनि अस्पताल निर्माणको काम अघि बढाउने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “चीन सरकारले ५० शय्यासम्मको अस्पताल बनाउने भन्ने कुरा अघि बढेको छ। अन्य क्षेत्रबाट बजेटको सुनिश्चित नभएको खण्डमा सरकार आफैँले पनि निर्माण गर्छ।”

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पनि बजेटमा अन्योल सिर्जना भएको बताउनुभयो। कति, कसले, कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुङ्गो नलागेको उहाँको भनाइ छ। यद्यपि अस्पताल निर्माणको विषयमा प्रदेश सरकारले समेत छलफल अघि बढाउने उहाँले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “यो विषयमा जुम्लामा पुगेर शुक्रबार मात्र प्रतिष्ठानसँग छलफल गरेर आएको छु। सङ्घीय सरकारले बनाउने हो भने प्रदेश सरकारले के सहयोग गर्नु पर्छ सरकारले सहयोग गर्ने उहाँको भनाइ छ।”दैलेखको राकम कर्णालीमा एक सय शøयाको अस्पताल निर्माण भए कर्णालीसहित सुदूरपश्चिमका नागरिकले समेत सेवा पाउने जनाइएको छ। 

दैलेख, हुम्लासहित सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लावासीले प्रत्यक्ष लाभ लिने छन्। सङ्घीय सरकारले नै बेवास्ता गर्दा प्रतिष्ठान निर्माणको योजना अलपत्र परेको आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताउनुभयो। उहाँका अनुसार स्पष्ट बजेट नतोकिदिँदा काम गर्न समस्या भएको हो।

हाल राकम कर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रदान भइरहेको छ। अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक खटाएको छ। आधारभूत भौतिक व्यवस्थापन एक्सरे, भिडियो एक्सरे, इसिजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। विशेषज्ञ सेवा सञ्चालनका लागि अपरेसन कक्ष तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन गरिएको छ।

राकम कर्णालीमा एक सय शय्याको अस्पताल बने जटिल रोगको उपचार घरआँगनबाटै पाउने आशा पलाएको आठबिस नगरपालिका–९ का राम सिजापतीले बताउनुभयो। उहाँ भन्नुहुन्छ, “अझै पनि सिटामोलसमेत भनेको समयमा पाइँदैन। अस्पताल बने नागरिकले सर्वसुलभ सेवा पाउने थिए। अहिले पनि जटिल रोग लागेमा उपचार खर्चभन्दा यातायातको भाडा महँगो पर्ने गरेको छ।”