उदयपुर जिल्लाको मुख्य व्यापारिक नाका तथा तराई र पहाड जोड्ने केन्द्रका रूपमा रहेको त्रियुगा नगरपालिकाभित्रै जिल्ला सदरमुकाम गाईघाट पनि पर्छ। चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ५४७.४३ वर्गकिलोमिटरमा फैलिएको छ। ‘स्वस्थ शिक्षित उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ भन्ने आदर्श वाक्यका साथ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतसँग नगरको विकास, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका भक्तिविलास पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
तपाईंले चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएका प्रतिबद्धता कति पूरा भए त ?
हामीले चुनावी घोषणापत्र पाँच वर्षको कार्ययोजना समेटेका थियौँ। अहिले एक वर्ष मात्र पूरा भएको छ। यो अवधिमा हामी घोषणापत्रकै मार्गमा अगाडि बढेका छौँ र हरेक योजनाको जग बसाल्ने काम भएको छ। एक वर्ष पूरा गर्दैगर्दा सुखी नगरवासी र समृद्ध त्रियुगा नगरको मार्गचित्र तयार भइसकेको छ र त्यसै अनुरूप अगाडि बढेका छौँ।
सुखी नगरवासी र समृद्ध त्रियुगानगर निर्माणका मार्गचित्रमा के कार्यक्रम समेटिएका छन् ?
सङ्घीय र प्रदेश सरकारबाट आउने सिमित अनुदान तथा नगरको सिमित आन्तरिक स्रोतसाधनले सम्पूर्ण लक्ष्य हासिल गर्न कठिन भए पनि अधिकांश लक्ष्य पूरा गर्ने कोसिस गरिरहेका छौँ। वडा नं. ११, १२ र १३ का सहरी क्षेत्र गाईघाटलगायतमा पर्ने सडक पूर्वाधारका लागि कार्यक्रम अगाडि बढेको र यसै वर्षदेखि निर्माणको प्रक्रियामा जाने निश्चित भएको छ। त्रियुगा चक्रपथ निर्माणको बजेटसहित कार्यक्रम अगाडि बढेको र यसै वर्षदेखि निर्माण कार्य सुरु गरिने छ। सुरक्षित आवास परियोजनाका लागि साझेदारीमा विभिन्न वडामा ५० वटा सुरक्षित घर निर्माण भइरहेका छन्। गाईघाट–रौता सडक अन्तर्गत त्रियुगा–१५, बरुवा डहरबाट रौतासम्म पक्की सडक निर्माण कार्य यसै वर्ष सुरु हुँदै छ। गाईघाट खानेपानी आयोजना पनि अगाडि बढेको छ। यो आयोजनाबाट वडा नं. १०, ११ र १२ का जनताहरू प्रत्यक्ष लाभान्वित हुने छन्। नगर क्षेत्रभित्र ठुलासाना गरी विभिन्न २६ वटा खानेपानीका योजना सञ्चालनमा रहेका छन्।
नगर प्रमुखमा निर्वाचित भएर आएपछि अहिलेसम्म के कस्ता योजना सम्पन्न भए ?
हाम्रो नगरपालिकाले गत वर्ष एक हजार ६४७ मिटर सडक कालोपत्रे, २१ किलोमिटर सडकमा नाला निर्माण, ४० हजार मिटर ग्राभेल, १० भन्दा बढी नयाँ सडकमा सात हजार मिटर ट्र्याक खोलिएको छ। ठुला साना गरी ७७ भन्दा बढी सार्वजनिक भवन निर्माण भएका छन् भने डेड दर्जनभन्दा बढी विद्यालय र सामुदायिक भवन निर्माण भएका छन्। २२ वटा कल्भर्ट निर्माण भए भने आधा दर्जन कल्भर्ट मर्मत सम्भार भएका छन्। खानेपानीलाई व्यवस्थित बनाउन बृहत् गाईघाट खानेपानी आयोजना, रातमाटे लिफ्टिङ खानेपानी आयोजना र शाही खोला खानेपानी जस्ता ठुला आयोजना निर्माणको चरणमा छन् र २६ वटा खानेपानी आयोजना सञ्चालनमा ल्याएका छौँ। एक हजारभन्दा बढी युवालाई उद्यमशीलता तालिम दिएर स्वरोजगार हुन अभिप्रेरित गरिएको छ।
जिल्ला सदरमुकामसमेत रहेको यो नगरपालिकाको विकासमा के कस्ता समस्या र चुनौती पाउनुभयो ?
हाम्रो त्रियुगा नगरपालिका जिल्लावासीकै आशा तथा भरोसाको केन्द्रका रूपमा रहँदै आएको छ। यहाँ अवसर र चुनौती दुवै छन्। जिल्ला अस्पताल यही अवस्थित भएकाले अस्पतालको स्तरोन्नतिदेखि आर्थिक तथा भौतिक जिम्मेवारी यसै नगरपालिकाले बहन गर्दै आएको छ। नगरको सरसफाइदेखि सडक बाटो, हाटबजार व्यवस्थापन, यातायात व्यवस्थापन, सुरक्षालगायत सबै क्षेत्रमा चुनौती रहेको छ। हामीले आफ्नो अधिकतम क्षमतालाई प्रयोग गरी यी सबै समस्याको निराकरण गर्दै आएका छौँ।
सुकुमवासी र अव्यवस्थित बसोबास यहाँको एउटा समस्या हो। यो समस्या कहिलेसम्ममा समाधान होला ?
नगरपालिकाभित्र भूमिहीन दलित एक हजार ३८८, भूमिहीन सुकुमवासी तीन हजार १४४ र अव्यवस्थित बसोबास १२ हजार ५२ रहेको छ। यसमध्ये नगरले अहिलेसम्म ऐलानी जग्गा १२ हजार ५७८ कित्ता नापी गरेको छ र ऐलानी जग्गाको लालपुर्जाका लागि हामी निरन्तर प्रयाससरत छौँ।
समृद्ध त्रियुगा नगर निर्माणका लागि गरिनुपर्ने विकासका अल्पकालीन र दीर्घकालीन मुख्य मुख्य क्षेत्र के के हुन् ?
समृद्ध त्रियुगा नगर निर्माणका लागि गरिनुपर्ने विकासका अल्पकालीन र दीर्घकालीन मुख्य क्षेत्रमा खास गरी पूर्वाधार निर्माण, कृषिमा यान्त्रिकीकरण गर्दै आधुनिकीकरण, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य र सुरक्षा तथा स्वच्छ खानेपानीको व्यवस्था एवं पर्यटन क्षेत्रको विकास नै समृद्ध नगर निर्माणको मूल आधार हुन्।
यहाँका ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वका स्थलको संरक्षण र विकासमा के के काम भएका छन् ?
हाम्रो त्रियुगा नगरपालिका ऐतिहासिक, धार्मिक तथा पवित्र त्रियुगा नदीको किनारमा अवस्थित नेपालको तेस्रो ठुलो नगरपालिका (क्षेत्रफको हिसाबले) हो। रामायणमा उल्लेख भए अनुसार त्रियुगा नदी त्रेतायुगदेखि निरन्तर बगिरहेको छ। यसबाहेक ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्रत्त्वका धेरै स्थल छन्। हामी यी स्थलको संरक्षण र विकासमा निरन्तर लागिरहेका छौँ। गत वर्ष त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर र वडा नं. ८ को खाट मन्दिर क्षेत्रमा उत्खनन गरियो। उत्खननका क्रममा फेला परेका केही ऐतिहासिक वस्तुको संरक्षण गरिएको छ । गत वर्ष करिब ५० वटा ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पदाको जीर्णाेद्वार गरी संरक्षण, मर्मत तथा निर्माणसमेत गरेका छौँ।