• १२ साउन २०८१, शनिबार

एनआरएनए युकेको अध्यक्षमा हितकाजी

blog

लण्डन समाचारदाता

लण्डन, साउन ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार मध्यराति अनलाइनमार्फत सम्पन्न भएको मतदानमा तमुधिं युकेका निवर्तमान अध्यक्षसमेत रहनुभएका गुरुङले एक हजार ४७९ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी दिनेश घिमिरेले एक हजार २५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याएको निर्वाचन समितिका सदस्य विपिन निरौलाले जानकारी दिनुभयो । 

यसैगरी रवीन्द्र कँडेल र सुरेश परियार उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अन्य प्रतिस्पर्धी ज्ञानेन्द्र आले, कर्मा पहाडी शेर्पा र अमन गौचन पराजित हुनुभयो । निर्वाचन समितिका अनुसार  स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री निर्वाचित हुनुभएको छ । 

यसैगरी, गोविन्द शर्मा खरेल महासचिवमा निर्वाचित हुनुभएको छ । उहाँले बालकृष्ण भुसाललाई पराजित गर्नुभयो । सहकोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही, युवा संयोजकमा सुजित शाही, आइसिसी सदस्यहरूमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित हुनुभएको छ ।

इङ्ल्याण्ड राज्य परिषद् अध्यक्षमा शम्भुप्रसाद अर्याल र स्कटल्याण्ड राज्य परिषद् अध्यक्षमा दिवाकर पाण्डे निर्वाचित हुन भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा करिब ९० प्रतिशत मत खसेको थियो ।

शनिबार बिहान ६ बजे सुरु भएर मध्यरात सम्पन्न अनलाइन मतदानमा चार हजार १८३ मतदाता रहेकोमा तीन हजार ७२८ मत खसेको थियो । निर्वाचनको अनुगमनका लागि एनआरएनए उप महासचिव रामशरण सिम्खडा र युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटालाई अनुगमनकर्ता तोकिएको थियो । 

यसैगरी प्रेम गाहामगरको नेतृत्वमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अध्यक्षमा पुनः गाहामगर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार लन्डनमा आयोजित समारोहमा अध्यक्ष गाहामगरसहित ५४ निर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गर्नुभएको छ ।