गर्न सिकाउने शिक्षा नै प्राविधिक शिक्षा हो । सिपमूलक बनाउने शिक्षा हो । गरेर सिक्ने शिक्षा हो । सिप सिक्न चाहनेका लागि ज्ञान दिने विषय नै प्राविधिक शिक्षा हो । सिपका साथसाथै मनोदृष्टि र व्यवहार पनि जोडिन्छ । सिप सिकेर त्यसलाई व्यवहारमा कसरी उतार्र्छौं भन्ने फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा आफूले काम सिकेर त्यसलाई जीवनमा प्रयोग गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिन्छ ।
घरमा पनि आफ्ना बच्चामा सिप छ कि छैन भन्ने गर्छौं । खाना पकाउने सिप छ कि छैन भन्छौँ । घरदेखि रोजगारीसम्मका लागि महत्वपूर्ण छ । व्यक्ति १८ वर्ष भएपछि काम गर्ने क्षमता राख्छ । आय आर्जन गर्न सक्छ । हात वा मेसिनको प्रयोग गरेर सिप सिक्न सकिन्छ । सिप सिक्नका लागि नै प्राविधिक शिक्षा महत्वपूर्ण बनेको हो ।
हामीले प्राविधिक जनशक्ति अभाव छ भन्दै आएका छौँ । के हामीले प्राविधिक जनशक्ति उत्पादन गर्न पूर्वाधार तयार गरेका छौँ ? प्रशिक्षक त्यस अनुसार छन् ? सबै जना शुल्क तिर्न सक्ने हैसियतका छन् ? त्यसैले यी विषयलाई कसरी सहजीकरण गर्ने भन्नेबारेमा सोच्नुपर्छ । सिपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा चाहिन्छ भन्छौँ तर पूर्वाधारका बारेमा सोचेका छैनौँ । प्रि–डिप्लोमा गरेका विद्यार्थीले मजाले उद्योगमा काम गर्न सक्छन् । डिप्लोमा पूरा गरेमा उनीहरूले अझ बढी अवसर पाउँछन् । तीन वर्ष फार्मेसी अध्ययन गरेका विद्यार्थीले मज्जाले पसल खोलेर बस्न सक्छन् । ल्याब टेक्निसियन अध्ययन गरेका विद्यार्थीले दुई घण्टा एक ठाउँमा, अर्को दुई घण्टा अर्को ठाउँ काम गर्छन् । तसर्थ प्राविधिक तथा व्यावसायिक शिक्षामा गर्न चाहना राख्नेहरूलाई ठुलै अवसर छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा धेरै विषयमा पठनपाठन हुँदै आएको छ । स्वास्थ्य, इन्जिनियरिङ, कृषि, उत्पादन, निर्माणलगायतका क्षेत्र छन् । अहिले सबैभन्दा बढी नर्सिङ, सूचना प्रविधि, फार्मेसी आदिमा आकर्षण छ । निर्माण क्षेत्रमा सिभिल, प्लम्बिङ, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मीलगायत विषय छन् । अहिले निर्माण भइरहेका ठुलाठुला भवनमा प्रयोग भइरहेका अधिकांश प्राविधिक जनशक्ति प्राविधिक शिक्षालयका उत्पादन हुन् । हो, दक्ष जनशक्ति कम छ । छिमेकी मुलुकका दक्ष जनशक्ति प्रयोग भइरहेको छ । नेपाललाई आवश्यक पर्ने निर्माण क्षेत्रका दक्ष जनशक्ति स्वदेशमै तयार गर्नुपर्छ । नीतिगत व्यवस्थादेखि शिक्षण संस्था, उद्योगको सहयोग भएमा सम्पूर्ण नेपाली दक्ष जनशक्ति परिचालन असम्भव हुँदैन ।
स्वास्थ्यमा नर्सिङ विषय जल्दोबल्दो छ । यसमा विदेशको अवसर पनि छ । फार्मेसी, ल्याब टेक्निसियन, रेडियोग्राफी आदि विधा छन् । इन्जिनियरिङ क्षेत्रमा इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ आदि छन् । होटल व्यवस्थापन विषय अर्को आकर्षणको विषय बनेको छ । कृषिमा बाली र पशुविज्ञान छ । कृषिमा तीनवर्षे र १८ महिने तालिमको व्यवस्था पनि छ । कृषि पढेर डिप्लोमा गरेर स्वरोजगार हुने धेरै अवसर छ ।
प्राविधिक विषयका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था छ । निजी क्षेत्रको शुल्क महँगो भनेर आरोप लगाइन्छ तर सिटिइभिटीले तोकेको भन्दा बढी कसैले पनि लिन पाउँदैन । मापदण्डभन्दा बढी लिइएको पाइएमा कारबाही हुन्छ । हरेक निजी शिक्षण संस्थामा १० प्रतिशतलाई त निःशुल्क छात्रवृत्तिको व्यवस्था भएकै हुन्छ । डिप्लोमापछि स्नातकका लागि बाटो खुला छ । डिप्लोमालाई कक्षा १२ सरहको मान्यता दिइएको छ । इन्जिनियरिङका विद्यार्थीले तीनवर्षे डिप्लोमा पूरा गरेपछि बिईको प्रवेश परीक्षामा सम्मिलित हुन पाउँछन् । कृषि, नर्सिङ, फार्मेसी सबै विषयमा उच्च शिक्षामा ढोका खुला छ । एचए पढेकाले एमबिबिएसमा प्रतिस्पर्धा गर्न पाउँछन् । एचए अध्ययन गरेर एमबिबिएसमा नाम निकालेर अध्ययन गर्नेहरू धेरै जना भइसकेका छन् । त्यसैले यहाँ अवसरका ढोका खुला छन् ।
छोटो समयमा बढी प्रचार भएको काठमाडौँ महानगरपालिकाको कार्यक्रम छ– शिक्षामा सिप । यस कार्यक्रमले प्राविधिक शिक्षाका बारेमा प्रचार भएको छ । कामपाले ५६ वटा विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई एकदमै तल्लो तहदेखि प्रोत्साहन गर्न खोजेको छ । विभिन्न १० वटा विधा तय गरिएको छ । कक्षा ९ का विद्यार्थीलाई हेयर कटिङ, फेसन डिजाइन, सहरी कृषि, प्लम्बिङ, माटोको भाँडा बनाउनेलगायतका विधामा तालिम उपलब्ध गराइएको छ । यसको ‘फिडब्याक’ सकारात्मक छ । विद्यार्थी उत्साहित छन् । प्राविधिक शिक्षा विद्यालय तहबाट चाहिन्छ भन्ने कुरा यस कार्यव्रmमबाट अनुभव भएको छ ।
अहिलेका बच्चालाई कमिजमा टाँक हाल्न आउँदैन । यो कुरा सामान्य लाग्न सक्छ तर न अभिभावकले यो कुरा बुझेका छौँ न त विद्यार्थीले बुझेका छन् । हामीले त राम्रा र ठूला कलेज मात्र देखेका छौँ । प्राविधिक शिक्षालाई त ‘ब्लु कलर जब’ भन्छौँ । हामी आफ्ना छोराछोरीलाई सफासुग्घर भएको र टेबुल वर्क गरुन् भन्ने चाहन्छौँ । सकभर प्राविधिक शिक्षा नपढून् भन्ने चाहन्छौँ । प्राविधिक शिक्षा जसले पढेको छ ऊसँग सिप हुन्छ र ऊ जहाँ पनि बिक्छ भन्ने बुझ्नु जरुरी छ । हो, जहाँ प्राविधिक शिक्षा अध्यापन गरिन्छ त्यहाँ हात फोहोर हुन्छ । सिपको सिकाइ र भोगाइले भविष्य सुनिश्चित हुन्छ भन्ने बुझ्न सक्नुपर्छ । खेतमा काम गर्न हामी हिच्किचाउँछौँ । खेत बाँझै राख्न तयार छौँ । कृषिका सिप सिकेर आफ्नो खेतमै व्यावसायिक कृषिलाई अगाडि बढाउन सक्यौँ भने त्योभन्दा राम्रो अरू केही हुन्न । यसतर्फ हामीले सोचेकै छैनौँ ।
उद्यमशील कसरी बन्ने भन्ने ज्ञान विद्यार्थीले प्राविधिक शिक्षाबाट प्राप्त गर्न सक्छन् । होटल व्यवस्थापनमा यति धेरै अवसर छ । कोभिड–१९ ले गर्दा यो क्षेत्रलाई समस्या पारेको थियो तर अहिले फेरि पुरानै अवस्थामा फर्किएको छ । बनेपा र भरतपुरका पोलिटेक्निकल स्कुलका विद्यार्थीलाई भ्याइ नभ्याइ छ । त्यहाँका विद्यार्थी अध्ययन गर्दागर्दै आयआर्जन गर्न थालिसकेका छन् । होटलहरूले बेलाबखत विद्यार्थीलाई लिएर जान्छन् । त्यसबापत उनीहरूले पारिश्रमिक दिने गरेका छन् । यो विधामा प्रवेश नगर्दासम्म के हो, के हो भन्ने हुन्छ तर प्रवेश गरेपछि रमाइलो र आर्थिक रूपमा राम्रो पनि छ । तसर्थ यसको प्रभावका बारेमा जनचेतना पुगेकै छैन ।
प्राविधिक शिक्षाविज्ञ श्रेष्ठ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।