• १२ साउन २०८१, शनिबार

विज्ञान किन ?

blog

भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजासँगै विद्यार्थीमा कक्षा ११ मा कुन कुन विषय लिएर पढ्ने भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ । यससम्बन्धी विद्यार्थीले आफ्ना अग्रज, साथीभाइ तथा गुरुहरूसँग सरसल्लाह गर्न थालेका छन् । कक्षा ११ मा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाउने भएकाले पनि माध्यमिक शिक्षा परीक्षाको महत्त्व रहेको देखिन्छ । यस दृष्टिले यो जीवनकै एउटा महत्त्वपूर्ण मोड हो । यस समयमा गरेको सही निर्णयले विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ भने गलत निर्णयले समय, रकम र मेहनतको नाश पनि गर्न सक्छ । त्यसैले विद्यार्थीले निर्णय गर्दा आफ्नो रुचि, क्षमता, लक्ष्य र देशमा कुन विषयको मानव संसाधनको कमी छ भन्ने जस्ता कुरामा ध्यान दिएर गर्न सके आफ्नो भविष्य उज्ज्वल हुने र अभिभावकको लगानी पनि खेर नजाने हुन्छ । यति मात्र नभई राष्ट्रको निम्ति आवश्यक जनशक्ति निर्माण भई देश विकासमा समेत टेवा पुग्दछ ।

समय द्रुत गतिमा अघि बढिरहेको छ । विज्ञान र प्रविधिले हरेक दिन विश्वमा नयाँनयाँ आविष्कार गरिरहेको छ । मानव जीवनको कुनै पल विज्ञान र प्रविधिबाट अलग रहन सकेको छैन । यस सन्दर्भमा आजको विश्वमा स्टेम विषयहरूले विशेष रूपमा आफ्नो स्थान बनाउन थालेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो एक सम्बोधनमा स्टेम (STEM) क्षेत्रमा मानव संसाधन विकास गर्नमा जोड दिनुभएदेखि यस विषयप्रतिको लोकप्रियता बढ्दै गएको छ । स्टेम विज्ञान, प्रविधि, इन्जिनियरिङ अनि गणित विषयहरूको एकीकृत रूप हो । विज्ञानले जिज्ञासा जगाउने, प्रश्न गर्ने, परिकल्पना गर्न सिकाउँछ भने सो परिकल्पनालाई यथार्थमा कसरी उतार्ने भन्ने कुरा प्रविधिले सुझाउँछ । यसरी प्रविधिले दिएको परिकल्पनालाई यथार्थमा उतार्ने उपायलाई मानव जीवनलाई सरल र सहज बनाउन कसरी सकिन्छ भन्ने कुराको डिजाइन गर्न इन्जिनियरिङले मद्दत गर्दछ र यी सबै कार्यलाई तार्किक बनाउने काम गणितले गरिरहेको हुन्छ । अझै यसलाई जीवन्त र समानुभूतिपूर्ण बनाउन कला (आर्ट) थपेर स्टिम पनि बनाउन सकिन्छ । भविष्यमा स्टेम वा स्टिम क्षेत्रमा प्रवेश गर्नका लागि कक्षा ११ देखि नै विज्ञान विषय लिएर पढ्दा यस क्षेत्रका लागि राम्रो जग बस्न सक्छ । कक्षा ११ मा विज्ञान विषय अन्तर्गत भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर विज्ञान, गणित, भाषा (नेपाली, अङ्ग्रेजी) लिएर पढ्न सकिने भएकाले विद्यार्थीमा स्टेम वा स्टिम क्षेत्रमा जानका लागि आवश्यक एकीकृत ज्ञान र सिपको विकास हुन्छ । 

कच्चा उमेरमा विद्यार्थीले आफ्ना लागि सही निर्णय लिन नसक्दा र साथीहरूको लहैलहैमा लाग्दा क्षमतावान् विद्यार्थीले पनि विज्ञान विषय लिई नपढ्ने, रुचि तथा क्षमता नभई कसैको करकाप र लहैलहैमा लागेर विद्यार्थीले विज्ञान विषय लिई पढ्दा बिचैमा छाड्नुपर्ने अवस्था पनि आउन सक्दछ । त्यसैले उच्च जिपिए मात्र नभई विज्ञान विषय पढ्ने रुचि हुनु पनि त्यति नै जरुरी हुन्छ । रुचि नै नभएको विषयमा पनि विद्यार्थीले प्रगति गर्न सक्दैन । त्यसैले निर्धारित योग्यता र रुचि भएका विद्यार्थीलाई विज्ञान विषय लिई उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक परामर्श तथा मार्गनिर्देशन गर्ने जिम्मेवारी अभिभावक तथा शिक्षकको हुन आउँछ ।

विशेष गरी माध्यमिक शिक्षा परीक्षामा उच्च जिपिए ल्याउने विद्यार्थीले मात्रै विज्ञान विषय पढ्ने गरेको पाइएको छ तर हाल पाठ्यक्रम विकास केन्द्रले न्यूनतम १.६ जिपिए ल्याउने विद्यार्थीले विज्ञान पढ्न पाउने व्यवस्था गरिएको छ । त्यसैले विज्ञानमा रुचि भएका तर विविध कारणले माध्यमिक शिक्षा परीक्षामा उच्च जिपिए ल्याउन नसकेका विद्यार्थीले पनि विज्ञान विषय पढ्न पाउने भएका छन् । विज्ञान एक जटिल विषय हो र यो मेधावी एवं उम्दा विद्यार्थीले मात्रै पढ्न सक्छन् भन्ने हाउगुजी हाम्रो समाजमा व्याप्त छ । जसका कारण क्षमतावान् विद्यार्थीले पनि विज्ञान विषय नलिई अन्य विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने गरेको देख्न सकिन्छ । कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई चिकित्सक, इन्जिनियर बनाउन आर्थिक अवस्थाले साथ नदिने भएकाले रुचि र क्षमता भएका विद्यार्थीलाई पनि विज्ञान विषय लिएर नपढाउने गरेको पाइएको छ तर विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्नु भनेको चिकित्सक वा इन्जिनियर बन्नका लागि मात्रै होइन । वास्तवमा विज्ञान विषय पढेका विद्यार्थीका लागि स्टेम वा स्टिम क्षेत्रको सबै ढोका खुला हुन्छन् । उसले एमबिबिएस अध्ययन गरेर चिकित्सक हुन सक्छ, बिई गरेर इन्जिनियर बन्न सक्छ । बिएस्सी नर्सिङ गरेर नर्सिङ पेसामा लाग्न सक्छ । बिएस्सी, एमएस्सी गरेर शिक्षक, अनुसन्धानकर्ता बन्न सक्छ । वातावरण विज्ञान पढेर प्रकृति संरक्षणमा लाग्न सक्छ । कृषि तथा बागवानी विज्ञान पढेर कृषिमा नयाँ नयाँ प्रविधि भित्र्याउन सक्छ । बिएमएलटी गरेर प्रयोगशालामा काम गर्न सक्छ । फार्मेसी पढेर औषधि विज्ञानमा आफ्नो भविष्य बनाउन सक्छ । त्यति मात्रै नभएर पशु चिकित्सा, वन विज्ञान जस्ता धेरै क्षेत्रमा जान सकिन्छ । साथै ‘प्योर साइन्स’ अन्तर्गतका जीव, वनस्पति, भौतिक तथा रसायन विज्ञानमा उच्च शिक्षा हासिल गरी अध्यापन सरकारी सेवा वा अनुसन्धानमा आफ्नो भविष्य बनाउन सक्छ ।

विज्ञानका धेरै विषयमा जनशक्ति अभावका कारण उचित गति लिन सकिरहेका छैनन् । त्यसैले चिकित्सक, इन्जिनियर बन्न नसके पनि विज्ञानका अन्य विषय जस्तै वातावरण, भूगर्भशास्त्र, वन, खाद्य प्रविधि, अनुवंशिक प्रविधि, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि, सूक्ष्मजीव आदि अध्ययन गर्नु अत्यन्तै फलदायी हुन्छन् । यसले विविध क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन भई देशको चौतर्फी विकास गर्न मद्दत मिल्नुको साथै विज्ञान प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हामीले आफ्नो पहिचान बनाउन सक्थ्यौँ । 


सरस्वती निकेतन मावि, ब्रह्मटोल, टेकुका प्रधानाध्यापक महर्जन राष्ट्रिय परीक्षा बोर्डका सदस्य हुनुहुन्छ ।

   

Author

रविना महर्जन