• ८ जेठ २०८१, मङ्गलबार

सातौँ प्रधानमन्त्री कप भलिबल

नेपाल पुलिस र टिप टपको जित जारी

blog

मंगलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार २६ गते । नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित जारी राखेका छन् ।  

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगमा मंगलबार पुरुषतर्फ पुलिसले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–२१, २५–१९, २५–१७ को सहज जित निकालेको हो । जितसँगै पुलिसले तीन खेलबाट आठ अङ्क बनाएको छ । तीनवटै खेल जितेपनि पुलिसले गण्डकी प्रदेशसँग अङ्क बाँडेको थियो । 

यस्तै पुरुषतर्फकै अर्को खेलमा टिप टप हेल्प नेपालले पनि आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । जितसँगै हेल्प नेपालको नौ अङ्क पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगमा महिलातर्फको खेलमा एपिएफ क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–९, २५–१२, २५–११ को जित निकालेको हो । जितसँगै एपिएफले तीन खेलबाट आठ अङ्क बनाएको छ ।

अर्को खेलमा न्यु डायमन्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । पहिलो र दोस्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको न्यु डायमन्डले तेस्रो र चौथौँ सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पिएको थियो ।

पाँचौँ तथा निर्णायक खेलमा न्यु डायमन्डले १५–९ को जित निकालेको हो । लिगमा शीर्ष र दोस्रो स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुने आयोजक भलिबल सङ्घले जनाएको छ ।