• १३ साउन २०८१, आइतबार

पुष्पलालको योगदानलाई युवा पङ्क्तिमा पुर्‍याउन आवश्यक : अध्यक्ष नेपाल

blog

पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर प्रदीपराज वन्त

काठमाडौं, असार २५ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पङ्क्तिमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै नभ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहनुभएको बताउनुभयो ।

‘‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ । उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँका योगदानलाई अझै हामीले युवा पङ्क्तिको बीचमा पुर्‍याउन सकौँ, उहाँको प्रेरण लिन उत्प्रेरित गर्नसकौँ ।’’

अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने कुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताउनुभयो ।