• १३ साउन २०८१, आइतबार

विकलको लुकेको प्रतिभा लोकार्पण

blog

काठमाडौँ, असार २२ गते । रमेश विकलको लुकेको प्रतिभा नामक चित्रकलाको पुस्तक बिहीबार काठमाडौँमा लोकार्पण गरिएको छ ।  प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अथिति शर्माले रमेश विकल साहित्यकार सँगसँगै राम्रो कलाकार पनि  हुनुहुँदो रहेछ भनेर उहाँको पुस्तक पढेर थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानैदेखि परिचित थियौँ, उहाँ राम्रो लेखक हुनुका साथै अलि अलि चित्र पनि कोर्नुहुन्छ भन्ने पनि मलाई थाहा थियो तर यति राम्रो चित्र बताउनुहुँदो रहेछ  भनेर चाहिँ पुस्तक पढेपछि मात्र  थाहा पाएँ ।” 

कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीले रमेश विकलले कोर्नुभएका चित्र समेटेर पुस्तक नै निस्कन्छ भन्ने नसोचेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकल साहित्यमा जस्तै कला सिर्जनामा पनि यर्थाथवादी हुनुहुँदो रहेछ ।” 

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपकप्रसाद रिसालले आफ्नो घर रमेश विकलको नजिक रहेकाले उहाँले चित्र बनाउँदै गरेको प्रायः देख्ने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले राम्रो सङ्गीत पनि सिर्जना गर्नुहुन्थ्यो । कहिले हार्मोनियम र राति राति बाँसुरी बजाएको पनि सुनिन्थ्यो ।” 

यमप्रसाद शर्माले लेख्नुभएको पुस्तक पूर्वकुलपति केके कर्माचार्यले सम्पादन गर्नुभएको हो । 

कार्यक्रममा कुलपति नारदमणि हार्थुमछाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वउपकुलपति गोपाल चित्रकार, शङ्करनाथ रिमाल, यमप्रसाद शर्मालगायत कला र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।