लक्ष्मण पौडेल
भैरहवा, असार २० गते । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा भैरहवामा सडक निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले नगरको थप सडक निर्माण र कालोपत्रेका लागि एडीबीलाई भित्र्याएको हो ।
एडीवीको सहयोगमा सिद्धार्थनगरमा साढे २६ किलोमिटर कालोपत्रे सडक निर्माण गर्नेगरी प्रक्रिया अघि बढेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो ।
उहाँका अनुसार शहरी विकास मन्त्रालयमार्फत एशियाली विकास बैंकको लगानीमा नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा साढे २६ किलोमिटर सडक निर्माण हुनेभएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले नगरपालिकाको पहलमा नगरमा एशियाली विकास बैंकको अर्बन रेजिलेन्स लिभ्लिहुड इम्प्रुभमेन्ट (युआरएलआई) आयोजना अन्तर्गत सडक निर्माण (कालोपत्रे) हुने बताउनुभयो । उहाँका अनुसार एक अर्ब ३५ करोड रुपियाँको बढी लागत अनुमानमा भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गा कोलोनीलगायत २८ वटा बढी सडकखण्ड निर्माण हुनेछ ।
यसअघि पनि सिद्धार्थनगरमा एडीबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजना सञ्चालन भइ सम्पन्न भएको थियो । आरयूडिपी आयोजना सञ्चालनको क्रममा देशमै पूँजीगत खर्चको अवस्था निराशाजनक भएको बेला समयमै काम सम्पन्न गरेकाले एडीबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार प्रदान गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत पौड्यालले आयोजना सञ्चालनका लागि दशैँअघि नै बोलपत्र आह्वान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक पनि सहज र समयअघि नै आयोजना सम्पन्न गर्नेगरी तयारी भइरहेको छ ।’
एडीबीले रुपन्देहीको सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना सञ्चालन गर्न लागेको छ । पाँचवटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, शहरी विकास मन्त्रालय अन्तर्गत आयोजना समन्वय कार्यालय र एडीबीबीच भएको छलफलमा एडीबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरी र आयोजना समन्वय कार्यालयको आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडीबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकाले अन्य पालिकाभन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना सञ्चालन हुने बताउनुभयो ।
नगर उपप्रमुख उमा अधिकारीले संरचनासहितको सडक निर्माणले हजारौँ नगरवासी लाभान्वित हुने विश्वास लिइएको बताउनुभयो । सडकका साथै नगरपालिकाको कार्यालयले नगरवासी र पर्यटकलाई लक्षितगरी डण्डा नदीलाई पनि करिडोरको रुपमा विकास गर्नका लागि प्रक्रिया अघि बढाएको छ ।
जसका लागि विस्तृत गुरुयोजना तयार हुनेक्रममा छ । आयोजना व्यवस्थापक साकार श्रेष्ठले डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्नका लागि एडीबी पनि सकारात्मक रहेको बताउनुभयो । डण्डा नदीको कार्य विभिन्न चरणमा सम्पन्न हुने बताइएको छ । प्रथम चरणका लागि ७० करोड रुपियाँ अनुमान गरी विनियोजन गरिएको छ ।
डण्डा नदी र जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदल यात्रु हिँडडुल मार्ग, नदीमा बोटिङ, रेष्टुरेण्ट, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्कलगायत संरचना निर्माण हुने बताइएको छ ।