• ३० वैशाख २०८२, मङ्गलबार

प्रदेशभरि एघार प्रतिशत मात्र रोपाइँ

blog

लुम्बिनी प्रदेश ब्युरो

रुपन्देही, असार १७ गते । मनसुन सुरु भए पनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाइँ गर्न सकेका छैनन्। आधा असार सकिँदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। 

यो वर्षको धान दिवस प्रदेशका विभिन्न ठाउँमा धान दिवस मनाइए पनि धेरै ठाउँमा किसानका खेत सुक्खा छन्। असार १५ गते शुक्रबारसम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। यस पटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ। सिँचाइ पुगेको भए आधा रोपाइँ भइसक्ने प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताउनुभयो। मरासिनीका अनुसार गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो। 

नवलपरासीदेखि बर्दियासम्मको तराई क्षेत्रको मुख्यखेती धान खेती हो। यस प्रदेशको खेतीयोग्य तीन लाख ११ हजार ४२ हेक्टरमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टरमा मात्रै रोपाइँ भएको छ।

प्रवक्ता मरासिनीका अनुसार क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा धान खेती गरिन्छ। कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने रुकुमपूर्वमा एक हजार ४१९ हेक्टरमा धान लगाइन्छ। अहिलेसम्म कपिलवस्तुमा चार हजार २०४ हेक्टर अर्थात् धानखेती हुने क्षेत्रफलको छ। प्रतिशतमा मात्रै रोपाइँ भएको छ भने रुकुमपूर्वमा ८५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। रूपन्देहीमा आठ प्रतिशत रोपाइँ सकिएको छ। रूपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ८० हेक्टरमा रोपाइँ भएको छ। यो प्रदेशको धान उत्पादन हुने मुख्य जिल्ला दाङमा आठ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ। दाङमा कुल धान रोपाइँ हुने ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये चार हजार २९० हेक्टरमा रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टरमध्ये चार हजार ९०३ हेक्टर अर्थात् १० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५०० हेक्टरमध्ये दुई हजार ४६० हेक्टर अर्थात् १२ प्रतिशत मात्र रोपाइँ भएको छ।

प्रदेशका पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ८.५ प्रतिशतमा रोपाइँ सकिएको छ। गुल्मीमा आठ हजार ६७० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने अहिलेसम्म ७३७ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ।  पाल्पामा ८२१ हेक्टर अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ। पाल्पामा यस वर्ष आठ हजार २१० हेक्टरमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताउनुभयो। प्युठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ।

अर्घाखाँचीमा ८०५ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। अर्घाखाँचीमा आठ हजार ५० हेक्टरमा धान खेती हुने उहाँको भनाइ छ। उता रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ। रोल्पामा धानखेती हुने चार हजार ६३८ हेक्टरमध्ये दुई हजार ११० हेक्टरमा रोपाइँ सकिएको छ।

अधिकांश खेत बाँझै

असार १५ गतेसम्म बाँकेमा भने अधिकांश खेत बाँझै छन्। कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरी करिब १५ प्रतिशत धान रोपाइँ भएको जनाएको छ। 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले अझै पनि केही किसानले धानको बीउ राख्न बाँकी रहेको जानकारी गराएको बताउनुभयो। केन्द्रका अनुसार सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा बढी धानखेती भएको छ। पानीको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बीउ राखेका किसानहरू यो समयमा पानी नपर्दा बीउ बुढो हुने चिन्तामा परेका छन्। बाँकेमा जिल्लाभर ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भए पनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन्। 

आकाशे पानी कुर्दै किसान

किसानले धान रोपाइँका लागि पानी कुरिरहेका छन् तर अझैँ पर्याप्त पानी पर्न सकेको छैन। पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन। गतवर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो। यो वर्ष पर्याप्त बर्सात हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन्। पानी नपर्दा रोपाइँ गर्न नसकेको तानसेन–९, किसान बुद्ध बस्यालले बताउनुभयो। गत वर्ष यही समयमा माडी फाँटमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो। 

पाल्पाको माडी, रामपुर, अर्गली, कचल, पूर्वखोला, झडेवा फाँट गत वर्ष रोपाइँ सुरु भइसकेको थियो। यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो। 

समयमै धान रोप्न नपाउँदा धान उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित बनेका छन्। माडी रुप्सेका किसान दामोदर घर्तीले भन्नुभयो, “गत वर्ष यही समयमा धान रोपेर हरियो भइसक्थ्यो, यो वर्ष ब्याडका लागि पनि पानी पुगेको छैन।” रोपाइँ हुने नहुने अझै निश्चित छैन।