• १८ वैशाख २०८१, मङ्गलबार

बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : मन्त्री बस्नेत

blog

काठमाडौं, असार १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ’ बालबालिकामा हुने क्यान्सरसम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्य हो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफ्नो दायित्य पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’’

कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्नु हुँदै भविश्यका चुनौति सामना गर्ने गरि योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।

मन्त्री बस्नेतले क्यान्सरको सङ्क्रमण देखिएका बालबालिका ठूलो सङ्ख्यामा  उपचारमा नआएको तथ्याङ्कले देखाएकाले उनीहरुलाई उपचार ल्याउनु पर्ने र निको हुने दर बढाउने गरी काम गर्न विज्ञहरुलाई सुझाव दिनुभयो ।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि दुई हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाँकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनुपर्ने अहिलेको प्रमुख चुनौति भएको बताउनुभयो ।
उहाँले भन्नु भयो , ‘‘वर्षमा १५ सयदेखि दुई हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ । तर उपचारमा पाँच सय मात्र आउछन् । दुई तिहाईलाई पनि उपचारमा ल्याउनुपर्छ ।’’
विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवम् मानसिक रोगका टीम लिडर डा.ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्याङ्कको समेत अभाव भएकाले समस्या थपिएको बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा.युवनिधि बसौलाले कान्ति बाल अस्पतालसहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा बालबालिकाको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै सन् २०३० सम्म क्यान्सरको समस्या भएका ६० प्रतिसत बालबालिकालाई उपचारमा ल्याउनुसक्नु पर्ने चुनौति रहेको बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बालबालिकामा हुने क्यान्सरको रोकथाम र उपचारमा सबैको सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का समस्य सचिव डा.प्रदीप ज्ञवालीले परिषद्ले क्यान्सर विरामीको तथ्याङ्क सङ्कलनदेखि अनुसन्धानका क्षेत्रमा काम गरिरहेको र भविष्यमा बालबालिकामा हुने क्यान्सरका विषयमा पनि अनुसन्धान गर्ने योजना रहेको जानकारी दिनुभयो । 

कान्ति बालअस्पतालका क्यान्सर विज्ञ डा.सुधिर सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै विकसित देशहरुमा ८५ प्रतिसत बालबालिकालाई क्यान्सरको उपचारपछि निको बनाउन सकिने अवस्था रहेको तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा वास्तविक तथ्याङ्कको अभावमा निको हुने दर यकिन गर्न समेत समस्या रहेको बताउनुभयो ।

नेपालले ‘डब्लूएचओ ग्लोवल इजिसिएटिभ अन चाइल्टहूड क्यान्सर’ जिआइसिसीमा सन् २०२० मा सुचिकरण भएर सन् २०३० सम्म ६० प्रतिशत बालबालिकालाई क्यान्सरको उपचारमा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

सो अनुसार काम अगाडि बढाउन कार्यशाला आयोजना गरिएको हो । कान्ति बाल अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा.बाबुराम गौतमले कार्यशाला निकै फलदायी भएको र विज्ञहरुका सुझावका आधारमा भविष्यको रणनीति बनाएर काम गर्ने बताउनुभयो ।