• १४ पुस २०८१, आइतबार

समितिको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग

blog

नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठ ।

काठमाडौं, असार ४ गते । नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले सङ्घीय संसद्अन्तर्गतका विषयगत समितिहरूको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले सङ्घीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरूको सभापति चयन कार्य ढिलाइ गर्न नहुने बताउनुभयो ।

सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाइ भएकाले ती समितिहरूको सभापति चयन प्रक्रियामा भने ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद श्रेष्ठले समितिका सभापतिहरूको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताउनुभयो ।

‘‘यो सरकार बनेको पाँच महिना १६ दिन भयो । मुख्य हाम्रो काम भनेको ऐन, नियम बनाउनु हो । आज समिति बन्नलाई धेरै लामो समय लाग्यो । समिति बनिसकेपनि समितिको सभापति चयन भएको छैन । जसले महत्त्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन । आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेको छैन ।,’’ सांसद श्रेष्ठले भन्नुभयो, ‘‘सङ्घीय संसद् प्रहरी ऐन बन्न सकेको छैन । सङ्घीय निजामती शिक्षा ऐन बन्न सकेको छैन । त्यसकरणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ । त्यसले गर्दा आज धेरै बेरुजुहरू बढेको छ । कानुन, नियम नभएको, कर्मचारी नभएकाले स्थानीय तहहरूको बेरुजु बढेको छ । त्यहाँको विकास, निर्माणमा अवरोध पुगेको छ ।’’

सांसद श्रेष्ठले कानुनहरूको निर्माण गरी सङ्घीयता कार्यान्वयनका कामहरूलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।