कविताको लघु रूप मुक्तक हो । यो अत्यन्त चोटिलो र धारिलो विधा हो । चोटिलो र धारिलो यस विधाको एक अर्को मुक्तकसङ्ग्रह नवराज रिजालको ‘अनि तिमी’ प्रकाशित भएको छ । रिजाल नेपाली साहित्यको क्षेत्रमा सिर्जना, सम्पादन, सङ्गठन क्षेत्रमा अत्यन्तै सव्रिmय प्रतिभा हुनुहुन्छ । यस सङ्ग्रहको भूमिकाको सन्दर्भमा साहित्यिक सर्जक डा. रमेश शुभेच्छुले उहाँको बारेमा जुन सम्बोधन गर्नुभएको छ, त्यो यथार्थ पनि हो । डा. रमेशले ‘अनि तिमी’ मुक्तक कृतिभित्र अभिव्यञ्जित नवराज रिजालको मुक्तककारिता शीर्षकमा २५ पृष्ठको प्राज्ञिक र पठनीय भूमिका लेख्नुभएको छ ।
डा. रमेशले मुक्तकका सम्बन्धमा विषय प्रवेशदेखि निष्कर्षसम्म पुग्दा कृतिलाई पठनीय बनाउनुभएको छ । मुक्तकको परिचयदेखि संरचनात्मक एवं शैलीशिल्पगत प्रवृत्तिसम्म आइपुग्दा एक दर्जनभन्दा बढी उपशीर्षकद्वारा मुक्तकको चिरफार गरिएको छ । यस सङ्ग्रहभित्र रहेका ५२६ वटा मुक्तकमध्ये ५८ वटा मुक्तक सिर्जनालाई यहाँ उद्धृत गरिएको छ; जसबाट भूमिका र यी मुक्तक पढ्दा पनि सिङ्गो कृति पढेको आभास मिल्छ । रिजालका यी मुक्तक एक पटकको बसाइमा नभएर पटक पटक लेखिएका भए पनि यति धेरै मुक्तकमा कहीँ कतै पुनरावृत्ति नहुनु यस सङ्ग्रहको एउटा सुन्दर विशेषता नै हो । आजको नेपाली समाजले भोगेका यावत् तर बहुविषयलाई आत्मसात् गरेका यी मुक्तकले समग्र राष्ट्रको पीडा बोलेको छ र पाठकलाई तरङ्गित बनाएको छ । यस सङ्ग्रहभित्रका मुक्तकमा के छैन भन्दा पनि सब थोक छ । सत्ता राजनीतिका चरम विकृतिहरू अन्याय, अत्याचार र भ्रष्टाचारका गहिरा खाडलहरू छन् । स्वार्थीहरूका स्वार्थका कथाव्यथाहरू छन् । स्वाभिमानका कथाहरू छन् । लेखकले चरम भेदभावविरुद्ध शब्दको राँको नै बाल्नुभएको छ । देश लुट्ने लुटेराहरूलाई चेतावनीको वाणरूपी वर्षा गराउनुभएको छ । कहीँ कतै देश बोलेको छ र जनता जुरुक्क उठ्नुपर्ने अवस्था सिर्जना भएको छ तर समग्र मुक्तक पढ्न पनि उत्तिकै धीरता लिनुपर्ने हुन्छ । एउटा सुन्दर मुक्तकसङ्ग्रहमा हुनुपर्ने विशेषता चोटिलो, पोसिलो र गुलियोको संयोग यसभित्र छ ।
मुक्तककारको नेपाली भाषासाहित्यप्रतिको समर्पणभाव एवं लोभलाग्दो सिर्जनात्मक प्रस्तुतिले यस मुक्तकसङ्ग्रहमा समेटिएका सबै अर्थात् ५२६ वटै मुक्तक पढिसक्दा पनि धित मर्दैन । पुनः पढ्नका लागि मन जान्छ । यस प्रसङ्गमा एउटा चोटिलो र मर्मस्पर्शी तिब्बती उखानले नै मुक्तककार रिजालका मुक्तकलाई चरितार्थ गर्छ । जस्तै :
सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन
सिङ्गै सागर पिएर पनि उनको तिर्खा मेटिँदैन !
अनि यस सङ्ग्रहभित्रका मुक्तक रचनाकारले कुन प्रसङ्ग वा परिवेश वा अवस्थामा हर्षित भएर वा बिल्कुलै दुःखी भएर लेख्नुभएको हो, बुझ्न कठिन छ । विशेष गरी उहाँका मुक्तकले वर्तमानमा देश, समाज र व्यक्तिविशेषले भोगिरहेको जुन दर्दनाक पीडा छ; त्यसलाई सम्बोधन गरेको छ । उहाँका सिर्जनामा निराशा होइन, दरो आत्मबल छ । सुध्रन र इमानदार भएर माथि उठ्न सकारात्मक सन्देश प्रवाह भएको छ । आमनागरिकको पीडा नबुझ्ने र देशमाथि नै बलात्कार गर्ने मठाधीशहरूप्रति यसले वाण नै प्रहार गरेको छ । आज प्रत्येक मानिसले आपूmलाई नितान्त एक्लो महसुस गरेको छ, सायद यो एक्लोपन वर्तमानमा सिर्जित विकृति र विसङ्गतिको उपज हो । उहाँका हरेक मुक्तकले यही कुराको मर्मस्पर्शी सन्देश प्रवाह गरेको छ । यस सङ्ग्रहमा रहेका जति पनि मुक्तकहरू छन् तिनका प्रत्येकको पीडा, मर्म, चेतना र उठान गर्न खोजेका विषयवस्तुको साझा अन्तरकथा त्यति नै पृथक् र फरक छ । जस्तै– यस सङ्ग्रहको पहिलो मुक्तक :
हिजो वर्गको कुरा गर्नुहुन्थ्यो छोड्नुभएको छ
हिँड्न थालेका बाटाहरू सबै मोड्नुभएको छ
एक पटक गम्भीर बनेर सोच्नोस् त ! महाशय
विगतका ती वाचाबन्धन सबै तोड्नुभएको छ ।
उहाँका प्रत्येक मुक्तक पढिसक्दा एक पटक मुक्तकका मर्मबारे घोरिएर चिन्तन गर्नुपर्ने अवस्था अनि यस सङ्ग्रहभित्रका सिर्जनाले गरेको छ । शालीन, भद्र, शिष्ट, रोचक एवं आक्रामक शैलीमा प्रस्तुत उहाँका यी मुक्तकभित्रको अन्तिम मुक्तकलाई हेरौँ :
आजका हामीहरू बाटा बाटामा गलेका छौँ
यसैले काँचो खरले पनि दन्दनी बलेका छौँ
हेर्नोस् आफ्नो बद्ख्याइँ आफैँ गर्नु परिरहेछ
देशका निम्ति हैन ! पेटका लागि जलेका छौँ ।
जे होस् मुलुक, समाज र राज्यसत्तालाई सुन्दर तर सकारात्मक सुझावका रूपमा नेपाली साहित्यका बहुमत पाठकसमक्ष यति धेरै थान मुक्तक पस्कन सफल मुक्तककार रिजालको ‘अनि तिमी’ एक पठनीय र सङ्ग्रहणीय कृति हो । २७६ पृष्ठमा सार्वजनिक यस पुस्तकको छपाइ र आवरणकला सुन्दर छ भने पुस्तकको अन्त्यमा डा. रमेश शुभेच्छुसँगको लामो मुक्तकवार्ताले लेखकसँगका धेरै तथ्य उद्घाटन गरेको छ । तन्नेरी प्रकाशन, काठमाडौँ प्रकाशक रहेको यस कृतिको मूल्य भने एक हजार रुपियाँ तोकिएको छ ।