“भोट केमा... जिन्दावाद...” हरिकृष्ण अर्धबेहोसीमा कराउँदै थियो । चुनावले गाउँ, सहर सबैतिर छोपिसकेको थियो । सबै चुनावमय भइसकेको थियो । यस्तोमा हरिकृष्णलाई पनि चुनाव लाग्नु अस्वाभाविक थिएन । उसलाई पनि बिहानैदेखि चुनाव लाग्छ । चुनाव आउनै हुन्न उसलाई । मतदानको एक महिनाअघिदेखि बाटो सबै आफ्नो बनाएर हिँड्छ ऊ । बिहानैदेखि बाहिरै हुन्छ । एक महिनासम्म घरमा कसैले उसका लागि भात कुर्नु पर्दैन । पूर्वबाट उदाएको सूर्य पश्चिमबाट अस्ताइसक्दा पनि हरिकृष्ण घरभित्र छिर्दैन ।
“ए बाबु जाऊ न बाउलाई खोजेर ल्याऊ । जे भए पनि, जस्तो भए पनि आखिर बाउ हो,” सानुमायाले छोरोलाई अह्राइन् ।
“सक्दिनँ आमा म त । बुवाको ताल जहिले पनि यस्तै त हो नि । आइहाल्नु हुन्छ नि,” छोरोले टेरपुच्छर लगाएनन् ।
“हिजो अस्तिभन्दा आज आउन धेरै ढिलो गर्नुभयो । जाऊ न गएर हेर,” आमाले पुनः अह्राइन् ।
“जान्नँ आमा म त । बुवाको ताल देखेर दिक्क लागिसक्यो । समाजमा मुख देखाउनै लाज लाग्ने भइसक्यो,” सुमन कड्किए ।
“लाज लागे मुख छोपेर बस न त,” सानुमाया फत्फताउँदै बाहिर निस्किन् ।
उज्यालोलाई अँध्यारोले निलिसकेको थियो । “न सडक न बत्ती न राम्रो बाटो, चुनाव आयो कि भोट भने चाहिएको छ,” सानुमाया मनमनै बोलिन्, “हरे शिव ! कहाँ गएर बसेका होलान् ? कति दुःख दिएका यी बुढाले पनि । रक्सी खुवाउने मान्छे भेटेपछि घरको वास्तै हुँदैन यिनलाई ।”
अलि पर पुगेपछि सानुबज्यै भेट्नेबित्तिक्कै सोधिहालिन्, “सानुबज्यै, सुमनको बाबालाई कतै देख्नुभयो तपाईंले ?” सानुबज्यैले भनिन्, “छैन नानी ।” अनुकूल जवाफ नआएपछि सानुमायाले आफ्नो पाइला अगाडि बढाइन् । अझ पर पुगेपछि दुईचार जना मानिस उभिएर कुरा गरिरहेको देखिन् उनले । पाटीमा पल्टिरहेको एक जना मानिस पनि देखिन् । सानुमायालाई लाग्यो, पाटीमा सुतिरहेको मान्छे आफ्नै लोग्ने त होइन । रक्सी खाएर सुतेका होलान् । यस्तै सोचेर उनले आफ्नो हिँडाइको गतिलाई तेज पारिन् । अगाडि पुग्दा त उनको अनुमान सही साबित भयो । त्यहाँ पल्टिरहेको मानिस अरू कोही नभई आफ्नै बुढा पो रहेछन् ।
“परबाट ढलपल गर्दै यहाँ आइपुग्यो । रक्सीले चुर रहेछ । यहाँसम्म बल्ल आइपुग्यो । झन्डै लडेको । लडेर चोटपटक लाग्ला, टाउको कतै ठोक्किएला भनेर यहाँ सुताइदिएको बुहारी हामीले,” बेखारत्न बोले ।
“अरू बेलामा त यति सारो दुःख दिँदैनथे नि दाइ । अहिले चुनाव लागेपछि दसैँ आएको भन्दा बढी भएको छ,” सानुमाया बोलिन् ।
“हैन, खान पनि कत्ति खाएको भन्या । आफ्नो शरीरले थाम्न नसक्ने गरी पनि खाने हो त । खुवाउने र खाने दुवै उस्तै,” त्यही पाटीमा उभिएको अर्को व्यक्ति बोल्यो । हरिकृष्ण पाटीमा पल्टिरहेको थियो । छिनछिनमा कसैले नबुझ्ने गरी कराइरहन्थ्यो । कहिले ‘जिन्दावाद’ भने जस्तो सुनिन्थ्यो भने कहिले ‘मुर्दावाद’ भने जस्तै लाग्थ्यो । बेखारत्नले हरिकृष्णलाई उठाउन सहयोग गरे ।सानुमायाले लोग्नेलाई भारी बोके जसरी पिठ्युँमा बोकिन् अनि घरतिर लागिन् । बल्लतल्ल हरिकृष्णलाई घर पु¥याएपछि ओछ्याइरहेको सुकुलमा पछारिदिइन् ।
“आफू दिनभर हाड नघोटी मुखमा माड लाग्दैन । छोरो अटेरी, लोग्ने जँड्याहा भएपछि कसरी सुख हुन्छ । मेरो अभागी कर्म...,” आँखा टिलपिलायो सानुमायाको । आमाको रुन्चे स्वर सुनेर सुमन सानुमायानजिकै आएर बस्यो । एकै छिनपछि बोल्यो, “आमा तपाईंले भनेको सबै कुरा त मानेकै छु नि । राम्ररी पढेकै छु । बाहिर साथीहरूले तेरो बौ त जाँड खाएर बाटोमै लडिरहेको थियो भनेर भन्छन् । मलाई कस्तो लाज हुन्छ आमा । त्यही भएर नगएको ।”
“भन्नेलाई भन्न देऊ बाबु । यो समाज यस्तै हो । हामी गरिब छौँ । त्यसैले हेपेका होलान् । जाऔँ बरु खाना खान । अब तिम्रो बुवाले खाना खानुहुन्न ।” सानुमायाले छोरालाई भनिन् । दुवै जना भान्सातिर उक्लिए ।
बाहिर चराहरू चिर्बिराउन थालिसकेका थिए । सूर्यले आफ्नो मधुरो प्रकाश धरतीमा फालिसकेको थियो । सानुमाया उठेर घर बढारकुँढार गरिन् । धारामा गएर एक गाग्रो पानी ल्याइन् । सदा झैँ देउताको पूजापाठमा आफूलाई व्यस्त राखिन् । त्यतिन्जेलसम्म घामले पूरै वातावरणलाई उज्यालो बनाइसकेको थियो ।
“सुमन, चिया खान आऊ । बुवालाई पनि उठाऊ ।” यति बेला उठेर बाहिर पुगिसक्ने हरिकृष्ण आज भने उठेकै थिएन । एक्कासि सुमन कराए, “आमा ! बुवालाई के भयो ? आउनु न छिटो ।” सानुमायाको हंसले ठाउँ छोड्यो । “के भयो ? के भयो ?” दगुर्दै आइपुगिन् सानुमाया । अचेत अवस्थामा रहेको श्रीमान् देखेर के गरूँ कसो गरूँ भयो उनलाई । आमाछोरा दुवै आत्तिएर कराए । कराएको आवाज सुनेपछि छिमेकी बेखारत्न तत्कालै घर आइपुगे । उनकै सहयोगमा हरिकृष्णलाई अस्पताल पु-याइयो ।
हरिकृष्णलाई अस्पताल भर्ना गरेको पनि चार दिन बितिसकेको थियो । रक्सी धेरै खाएर कलेजो खराब भएको छ उनको । चार दिनसम्म उपचार गर्दा औषधीलगायतका बाहिर हुने खर्चमा आफूसँग भएको सबै पैसा सकियो ।
“बाबु डाक्टरहरूले अझ एक दुई दिन राख्नु पर्छ भनेका छन् । हामीसँग भएको पैसा सबै सकियो । अस्पतालमा बसेको पैसा पनि तिर्न बाँकी छ । तिमी यहाँ बुवालाई कुरेर बस । कसैले पैसा सापट दिन्छन् कि हेर्छु ।”
“हुन्छ आमा,” सुमनको मुखबाट मधुर स्वर निस्कियो । घर आएर सानुमायाले टोलछिमेकमा पैसा सापट दिन थुपै्रसँग अनुनय गरिन् । “बिचरा ! यस्तो प¥यो । भए त दिनुहुन्थ्यो नि । हामीसँग पनि छैन,” सबैको मुखबाट यस्तै कुरा सुनेर सानुमाया निराश भइन् । यो समाज दया देखाउँछ तर माया भने गर्न जान्दैन, सक्दैन । उनले हरेक घरबाट ‘बिचरा !’ शब्दबाहेक केही पाइनन् । चुनावको समय छ । मतदानको दिन पनि नजिक आइरहेको थियो । चुनावमा उठेका, आफ्नो श्रीमान्लाई रक्सी, मासु खुवाएकाहरूले पो सहयोग गर्लान् कि भन्ने झिनो आशा लिएर उनीहरूलाई भेट्न गइन् । त्यहाँ पुगेर बल्ल नेतालाई आफ्नो दुखेसो पोखिन् । बिरामी भएर अस्पतालमा भर्ना भएको लोग्ने, खर्चको अभाव रहेको सबै बेलिविस्तार सुनेपछि उम्मेदवार बनेका नेताले हाँस्दै भने, “हामी चुनावमा व्यस्त छौँ । अहिले त चुनावको खर्च पनि कार्यकर्ता र शुभचिन्तकसँग चन्दा लिएर गरिरहेका छौँ । हामी जितेपछि के गर्न सकिएला हेर्छौं ।” सानुमायाले नेतालाई मुखभरिको जवाफ फर्काउन सक्थिन् तर त्यो जवाफ मनभित्रै राखिन् । लोग्नेलाई रक्सी धोक्न लगाएर दिनभर पार्टीको काममा जोताउने नेताबाट त्योभन्दा बढी आशा गरिनन् उनले । उनी केही नभनी त्यहाँबाट हिँडिन् ।
बाटोमा एक जना अधबैँसे व्यक्ति उनको पछि पछि लागेर आएको उनले चाल पाइन् । आफ्नो पछि कोही आइरहेको सुइँको पाएर उनी टक्क अडिइन् । अनि पछाडि फर्केर हेरिन् । साँझको बेला थियो । त्यसैले त्यो व्यक्ति नजिक नआएसम्म सानुमायाले चिनिनन् । नजिकै आएपछि बल्ल थाहा भयो । त्यसरी पछि लागेर आएको व्यक्ति माथ्लो टोलको कृष्ण रहेछन् । कृष्णले अघि नेता र सानुमायाबिच भएको कुरा बाहिर बसेर सुनिरहेका थिए । नजिकै आएर कृष्णले सोधे, “भाउजूलाई दाइको उपचारका लागि खर्च चाहिएको हो ?”
“हेर्नु न बाबु, तपाईंको दाइ अस्पतालमा मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । बेलैमा अस्पताल पु¥याएकाले केही आस छ । खर्च छैन ।”
“यस्तो बेलामा पनि सहयोग नगर्ने त्यस्तालाई हामीले भोट हालेर जिताउन हुन्छ ? तपाईं घर गएर बस्नुहोस् । के कति हुन्छ म घर आएरै सहयोग गर्छुु । अहिले तपाईं घर जानुस् भाउजू ।” सानुमायालाई ढुङ्गा खोज्दा देउता भेटे जस्तो भयो । उनको मुहार खुसीको लालीले उज्यालो भयो । त्यहाँबाट सानुमाया घर गइन् । “अनाथको सहारा दैव भन्छन् । कृष्णबाबु त देउतै बनेर आउनुभयो । सहयोग गर्नेहरू पनि रहेछन् नि यो समाजमा,” सानुमायाले मनमा कुरा खेलाइरहिन् ।
केही समयपछि कृष्ण त्यहाँ आइपुगे । हजारका छ वटा नोट हातमा राखिदिँदै उनले भने, “अहिलेलाई यसले काम चलाउँदै गर्नु भाउजू । यो पैसा फिर्ता पनि गर्नु पर्दैन ।”
“हामी गरिब छौँ तर इमान बेचेका छैनौँ । तपाईंको यो सहयोग हाम्रा लागि ठूलो हो । म सकेको बेलामा पैसा फर्काउँछु ।”
“पर्दैन भाउजू ।”
“किन नि बाबु ?”
“त्यस्तो कारण त केही छैन । यो पैसा मलाई रामलाल काकाले पठाउनुभएको हो । उहाँ पनि यो चुनावमा उठ्नुभएको छ । भोट चाहिँ उहाँलाई नै हाल्नु पर्छ है भाउजू । फेरि भोट किनेको नसम्झनुहोला । पूरै परिवारको भोट उहाँलाई नै दिनु पर्छ है,” यति भनेर कृष्ण त्यहाँबाट बाहिरिए । “मत दिनु भनेको मन दिनु हो । मन त बिक्री हुन्न होला,” उनले आफूले आफैँसित बात मारिन् । अघिसम्म धपक्क बलेको सानुमायाको अनुहारमा भने पूरै अँध्यारो पोतियो । उनको मुहार वर्र्षा हुनुपूर्वको कालो आकाशको जस्तो देखियो ।