• १३ साउन २०८१, आइतबार

क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु

blog

स्वागत समारोहमा बोल्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । तस्बिर : कपिल ज्ञवाली

सञ्चालनमा आएको १३ महिनापछि नेपाल एयरलाइन्सले भर्‍यो उडान

कपिल ज्ञवाली

सिद्धार्थनगर,जेठ ३० गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । 

न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे  विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो । 

यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । 

निगमको जहाज मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो । निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलवार र शनिबार गरी २ वटा उडान गर्ने छ भने  निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ ।

निगमको पहिलो उडानको नेतृत्व वरिष्ठ क्याप्टेन दिपु जुवार्चनले गर्नुभयो । पहिले उडानमा ९१ जना यात्रु मध्ये ३१ जना भैरहवा र ६० जना काठमाडौँ जानेछन् ।

यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् । हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।


मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको नेपाल एयरलाइन्सको एयर बस ।