• ८ जेठ २०८१, मङ्गलबार

थ्रीस्टार जोगियो एपिएफ रेलिगेसनमा

blog

थीस्टार टोली । एन्फा फाइल तस्बिर

काठमाडौं, जेठ २७ गते । गर या मरको अन्तिम खेलमा छिमेकी टोली जावलाखेल यूथ क्लबलाई हराउँदै ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको जित्नै पर्ने लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेललाई १-० गोलले हरायो । थ्रीस्टारको जितसँगै विभागीय टोली नेपाल एपिएफ क्लब रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ । एपिएफ १८ वर्षपछि ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

यसअघि एफसी खुमलटार रेलिगेसनमा परिसकेको छ । थ्रीस्टारको जितमा कप्तान विक्रम लामाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्नुभयो । डीबक्स भित्र प्रमिन श्रेष्ठले कप्तान विक्रम लामालाई लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो । 

विक्रमको संन्यास 

जित्नै पर्ने खेलमा थ्रीस्टारलाई जिताएसँगै विक्रम लामाले सक्रिय खेल जीवनबाट संन्यास लिनुभएको छ । उहाँले लिगको अन्तिम खेलसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको हो ।

थ्रीस्टारममा डेढ दशक बिताउनुभएका विक्रमलाई संन्यासका क्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोट लगाइदिएर बिदाइ गर्नुभएको थियो ।

विक्रमले सन् २०१३ फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीमा ३० खेल खेल्नुभएको छ ।

अन्तिम खेलको जितसँगै थ्रीस्टार नवौँ स्थानमा रह्यो । थ्रीस्टारले २६ खेलबाट ३२ अङ्क बनायो । समान खेलबाट ३७ अङ्क बनाएको जावलाखेल चौथो स्थानमा रह्यो । 

अनन्त सर्वोत्कृष्ट खेलाडी 

चर्च ब्वाइज क्लबका रक्षक अनन्त तामाङ लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । टोलीलाई लिग उपाधि जिताउन सफल उहाँले लिगमा २२ खेल खेल्दै चार गोल समेत गर्नुभएको थियो ।

उपाधिसँगै उहाँले तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै एभ्स प्रिसो हुनुभयो । उहाँले दुई लाख रुपियाँ पाउनुभयो । 

मणि शाह उदीयमान खेलाडी अवार्ड थ्रीस्टारका लाकेन लिम्बुलाई प्रदान गरियो । लाकेनले एक लाख ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । सर्वाधिक गोल कर्ताको पुरस्कार मच्छिन्द्रका ओलावाले आफिजले पाउनुभयो ।

उहाँले २३ गोल गर्नुभएको थियो । उपाधिसँगै उहाँले दुई लाख रुपियाँ पाउनुभयो । फेयर प्ले अवार्ड जितेको पुलिसलाई तीन लाख रुपियाँ पुरस्कार प्रदान गरियो । 

लिगको उपाधि एक खेल अगावै चर्च ब्वाइजले जितेको थियो । उपाधिसँगै चर्च ब्वाइजलाई ७५ लाख रुपियाँ पुरस्कार प्रदान गरियो । यस्तै दोस्रो भएको मच्छिन्द्रले ५० लाख रुपियाँ पुरस्कार पायो ।

दशरथ रङ्गशालामा शनिबार नै भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले मनाङलाई ३-१ गोलले हराउँदै लिगको सुखद अन्त्य गरेको थियो । तेस्रो भएको नेपाल पुलिस क्लबले २५ लाख रुपियाँ पायो ।

डबल राउन्ड रोविन लिगमा १४ क्लबको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलगायतले पुरस्कार प्रदान गर्नुभयो ।