• १३ साउन २०८१, आइतबार

बाह्र हजार पशु ‘लम्पि स्किन’ बाट सङ्क्रमित

blog

पाँचथर कुम्मायक गाउँपालिकास्थित लम्पि स्किन संक्रमित गाई गोरुको उपचार गरिदै । तस्विर सौजन्य : कुम्मायक गाउँपालिका, पाँचथर

नारायण तुम्बापो

फिदिम, जेठ २५ गते । प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।

बस्तुभाउको गोठै रित्तीनेगरी क्षति भएपछि किसान चिन्तित बनेका छन् । दुहुनो गाई मासिदा कतिपय किसानको मुख्य आयआर्जनको बाटो ठप्प भएको छ । अहिले पाँचथरमा एघार हजार ९७३ र ताप्लेजुङमा १२० बस्तुभाउ सङ्क्रमित रहेको केन्द्रको भनाइ छ ।

सो रोग सङ्क्रमणले पाँचथरम  १०० र ताप्लेजुङमा २ वटा गाईगोरु मरेका छन् । गाईगोरुमा बढी देखिएको यो रोग भैँसीमा पनि देखिन थालेको केन्द्रको भनाइ छ । यो रोग पाँचथरका ४० र ताप्लेजुङको एउटा भैँसीमा सङ्क्रमण देखिएको छ । चैत पहिलो हप्तादेखि देखिन थालेको लम्पि स्किन प्रकोप पाँचथरको कुम्मायक गाउँपालिकामा सबैभन्दा बढी देखिएको छ । 

यहाँका ६ हजार बस्तुभाउ सङ्क्रमित भएको पाइएको छ । त्यसपछि फालेलुङ गापाका चार हजार ८००, मिक्लाजुङ गापाका चार हजार ८००, फाल्गुनन्द गापाको चार हजार २०० सङ्क्रमित छन् । फिदिम नगरपालिकामा दुई हजार ५००, हिलिहाङ गापामा एक हजार ६००, तुम्बेवा गापामा एक हजार ५०० र याङ्वरक गापामा १०० पशु सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

जिउमा गिर्खा निस्कने, गिर्खा पाकेर कुहिएपछि किरा पर्ने लम्पि स्किन रोगको लक्षण देखिने गरेको पशु चिकित्सकको भनाइ छ । यो रोग नियन्त्रणको प्रयास भइरहेको भेटेरिनरी अस्पताल पाँचथर प्रमुख मनोजकुमार महतोले बताउनुभयो । उहाँका अनुसार पाँचथरको फाल्गुनन्दमा तीन हजार, मिक्लाजुङमा दुई हजार ५००, फालेल्ङमा एक हजार ५०० र फिदिममा एक हजार डोज लम्पि स्किन विरुद्धको खोप दिइएको छ । 

हावा र झिँगाबाट फैलने बताइने लम्पि स्किन भाइरस उच्च तापक्रममा अझ सक्रिय हुने पशु चिकित्सकको भनाइ छ । लामो समयदेखि पानी नपरेर खडेरी पर्नुका साथै गर्मी मौसम भएका कारण पनि पाँचथर ताप्लेजुङमा अहिले उच्च तापक्रम छ । 

खडेरी जारीरहे लम्पि स्किन भाइरस अझ व्यापकले फैलिन जोखिम रहेको कुम्मायक गापा पशुपन्छी शाखा प्रमुख डा. नगेन्द्र दाहालले बताउनुभयो । खनजोत गर्ने मुख्य सिजनमा गोरुहरूमा लम्पि स्किन सङ्क्रमण फैलँदा खेती प्रणाली नै अवरुद्ध हुने अवस्था सिर्जना भएको फिदिम–२ का किसान कमल तुम्बापोले दुखेसो पोख्नुभयो ।