• २१ वैशाख २०८१, शुक्रबार

चुलिँदै खानेपानीको सङ्कट

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ २५ गते । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर बजार क्षेत्रमा सातामा एक दिन मात्रै पानी वितरण गर्न थालेको छ। कतिपय स्थानमा दुई सातामा एक पटक मात्र पानी आउने गरेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। 

वीरेन्द्रनगर नगरपालिका–१ का उपभोक्ता वसन्ती खड्काले दुई सातामा एक दिन मात्रै पानी आउँदा मर्कामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई सातामा एक दिन अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ, अरू स्रोत छैन। इनार खन्यो पानी आउँदैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”

वीरेन्द्रनगरका प्रायः सबै वडामा पानीको हाहाकार छ। विशेष गरी दक्षिणतर्फको वडा नं. ९ का उपभोक्ताले धारामा १५/१६ दिनमा एक घण्टा मात्र पानी आउने गरेको गुनासो गरेका छन्। कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको उनीहरूको भनाइ छ। वडा नं. ९ का बासिन्दा विनोद गुरुङले खानेपानीको हाहाकार भएको बताउनुभयो। गाउँमा रहेको एउटा कुवाले एक दुई टोललाई जेनतेन धानेको उहाँको भनाइ छ। “प्रदेश राजधानीमा खानेपानीको व्यवस्था छैन। गर्मीयामसँगै खानेपानीको थप समस्या भइरहेको छ,” गुरुङले भन्नुभयो। आफूले जारको पानी किनेर खाने गरेको भन्दै उहाँले गाईबस्तुलाई समेत पानी नहुँदा समस्या भइरहेको बताउनुभयो। वडाले खानेपानीको समस्या समाधान गर्न दुई वटा डिप बोरिङ खनेको छ। ती बोरिङसमेत सञ्चालनमा आएका छैनन्। वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवा र ससाना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृषि गिरीले बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन्। एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदै छौँ।”

सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा १२० घण्टामा एक पटक पानी वितरण गर्ने तालिका बनाएको छ। स्थानीय उपभोक्ताले तालिका अनुसार पानी नआएको गुनासो गर्ने गरेका छन्। वीरेन्द्रनगर–३ की देवी भट्टराईले धारामा पानी नआउने र आए पनि एक/आधा घण्टा मात्र आउने गरेको बताउनुभयो।

खानेपानी संस्थाले पनि आवश्यक मात्रामा खानेपानी आपूर्ति हुन नसकेको स्वीकारेको छ। संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले पानीका मुहान सुक्न थालेकाले पानी पर्याप्त मात्रामा पु-याउन नसकिएको बताउनुभयो। उहाँका अनुसार प्रतिसेकेन्ड २७५ लिटर खानेपानीको माग हुने गरेकोमा अहिले प्रतिसेकेन्ड ८० लिटर मात्र आपूर्ति हुने गरेको छ।

बढ्दो जनसङ्ख्याले समस्या

प्रादेशिक राजधानी बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसङ्ख्या बढ्दो क्रममा छ। अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम रोकिएको छैन। यसले खानेपानीको समस्या बढ्दै गएको संस्थाका प्रमुख गौतमले बताउनुभयो। उहाँका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ। माग अनुसार खानेपानी पु-याउन सकिएको छैन। मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको सङ्ख्या बढेको छ।” उहाँका अनुसार बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै सुर्खेत उपत्यकामा दिनानुदिन जनसङ्ख्या बढ्दै गएको छ। वीरेन्द्रनगर उपत्यकामा हाल खरीखोला, बोरीखोला, झुप्रा खोला, इत्राम खोला र खोर्के खोलाबाट पानी ल्याइएको छ। यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको जनाइएको छ।