• १२ पुस २०८१, शुक्रबार

मलेसियालाई तीन विधामा उपाधि

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, पस ११ गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ ।

मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधि जितेको हो । पुरुष युगलतर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले हरायो । 

यस्तै महिला युगलतर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ र मिस्क युगलतर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१–१८, २१–११ ले पराजित गर्दै उपाधि जित्नुभएको हो । 

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको पुरुष एकलतर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बीएम राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाल्नुभयो । 

महिला एकलतर्फ थाईल्याण्डकी ललिनरात चाईवानले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले पराजित गर्दै स्वर्ण जित्नुभयो । प्रत्येक विधाका विजेताले  १२ सय, उपविजेताले ७२० डलर र तेस्रो हुनेले तीन सय अमेरिकी डलर पुरस्कार पाए । 

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा भएको प्रतियोगितामा नेपाल सहित २२ देशका एक सय ७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।