• ५ वैशाख २०८१, बुधबार

मच्छिन्द्रलाई पुलिसको धक्का

blog

विजेता पुलिस टोली । फाइल तस्बिर

काठमाडौं, जेठ २१ गते । उपाधि रक्षाको अभियानमा रहेको साबिक विजेता मच्छिन्द्र क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबको नमिठो धक्का लागेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्र पुलिससँग २–१ गोलले पराजित भयो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा मच्छिन्द्र स्तब्ध बनेको हो । मच्छिन्द्रको हारले शीर्षस्थानमा रहेको चर्च ब्वाईज युनाइटेडलाई थप फाइदा पुगेको छ । पुलिसको जितमा दुवै गोल मोसेस ग्याबाह त्वामले गर्नुभयो । मछिन्द्रका आफिज ओलावालेको सुरुवाती गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलमा ओलावालेले २७औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रको उत्साह जगाउनुभएको थियो ।

दोस्रो हाफमा लयमा फर्किएको पुलिसले ७५औँ मिनेटमा बराबरी गोल फर्कायो । मोसेसले फ्रिकिक मार्फत गोल गर्दै पुलिसको आशा जगाउनुभयो । त्यसपछि ८१औँ मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।

जितसँगै २४ खेलबाट ३७ अङ्क बनाएको पुलिस चौथो स्थानमा छ । पराजित मच्छिन्द्र समान खेलबाट ३९ अङ्क जोड्दै दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको चर्च ब्वाइजको ४४ र तेस्रो स्थानमा रहेको जावलाखेलको ३७ अङ्क छ । 

यसैगरी दशरथ रङ्गशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।

५२औँ मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पाको उत्साह जगाउनुभएको थियो । तर ५५औँ मिनेटमा एनआरटीका दीपेश आलेमगरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरीसँगै हिमालयन शेर्पाको २४ खेलबाट ३१ अङ्क पुगेको छ । एनआरटीले समान खेलबाट ३० अङ्क छ । 

यस्तै एन्फा मैदानमा भएको अर्को खेलमा सङ्कटा क्लबले एफसी खुमलटारलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा सङ्कटालाई जिताउन निशान खड्काले १६औँ, आयुष घलानले ३८औँ र चन्दनकुमार दासले ७८औँ मिनेटमा गोल गर्नुभयो ।

जितसँगै सङ्कटाले रेलिगेसनको सम्भावना टारेको छ । सङ्कटासँगको हारले खुमलटारलाई रेलिगेसनको दबाब थप बढेको छ । सङ्कटाले २४ खेलबाट ३० अङ्क बनाएको छ । पराजित खुमलटार समान खेलबाट २४ अङ्क जोड्दै तालिकाको अन्तिममा छ ।