• १५ चैत २०८०, बिहिबार

टिकटकले दुर्घटनाको जोखिम बढ्यो

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीड (फोटो फिचर)

blog

कर्णाली पुलको बीचमा सेल्फी लिदैँ आन्तरिक पर्यटक । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, जेठ १९ गते। कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढाएको छ। चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भए पनि सडकमै टिकटक बनाउनेका कारण जोखिम बढाएको हो। 

चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक शतर्कता अपनाउन नसक्दा समस्या भएको हो। 

कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाएर भाइरल बन्न चाहनेको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालक बताउँछन्। पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिबार पुलमा सवारी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेले भरिने बताउनुभयो। 

पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ। २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो। 

पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तार बाँधेर अड्याइएको छ। तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ। यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन्। पुलको लम्बाई ५०० मिटर र १० मिटर चौडाई रहेको छ। 

तस्बिर : न्युज एजेन्सी नेपाल