• १८ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्रीद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

blog

प्रधानमन्त्री प्रचण्डद्धारा महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, जेठ १८ गते । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले बिहीबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नुभएको हो । 

चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बुधबार दिउँसो दिल्ली अवतरण हुनुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गर्नुभएको थियो । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबिच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुने जानकारी प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो । उक्त क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

प्रधानमन्त्री प्रचण्डको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उहाँको फोटो अङ्कित स्वागत गेट, ब्यानर र होडिंग बोर्डहरू राखिएको थियो । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।