• १४ वैशाख २०८१, शुक्रबार

विपन्नका लागि दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्न निर्देशन

blog

काठमाडौं, जेठ १७ गते । सरकारले विपन्न, असहाय बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गराउन सम्बन्धित अस्पताललाई ताकेता गरेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई अस्पतालमा उपचारका लागि आउने विपन्न बिरामीलाई कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउन ताकेता परिपत्र गरेको हो ।  

वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीले गत वैशाख १४ गते पत्र गरी विपन्न बिरामीलाई कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गराउन सबैमा अनुरोध गरिएको भएपनि हालसम्मपनि कार्यान्वयन नभएकोले मन्त्रालयले सम्बन्धी सबैलाई पुन ताकेता परिपत्र गरेको जानकारी दिनुभयो ।  

प्रस्तुत विषयमा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनु पर्ने उल्लेख छ । 

सोही मापदण्डको दफा ७२ (ट) मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिनेगरी राख्नु पर्नेछ भनी उल्लेख भएको छ । 

उक्त कानुनी व्यवस्था बमोजिम यस मन्त्रालय र मातहतका निकायहरूबाट विभिन्न स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्ड अनुसार भएको नदेखिएको तथा अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरू समेत प्राप्त भएको परिपत्रमा उल्लेख छ । 

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य  प्रचलित कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरू सम्बन्धित  स्वास्थ्य संस्थाहरू पूर्णरुपमा पालना गर्नु गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ ।