• ८ जेठ २०८१, मङ्गलबार

उपाधि दावेदार जावलाखेल एपिएफसँग स्तब्ध

blog

बल खोस्ने प्रयास गर्दै एपीएफ र जावलाखेलका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, जेठ १३ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार जावलाखेल क्लब विभागीय टोली एपिएफ क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल एपीएफसँग २–० गोलले स्तब्ध बनेको हो ।

एपिएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले गोल गर्नुभयो । एपीएफले पहिलो र दोस्रो हाफका एक एक गोल गरेको थियो । बिडोमले २३औं मिनेटमा शरनविक्रम बस्नेतको पासमा गोल गर्दै एपिएफको उत्साह जगाउनुभएको थियो ।

त्यसपछि ८६औं मिनेटमा जावलाखेल र एपिएफ दुवै १० खेलाडीमा समेटिए । मैदानभित्र एकआपसमा झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले जावलाखेलका विदेशी खेलाडी अब्दुलाजिज निशोनवेभ र जावलाखेलका कप्तान नविन लामालाई सोझै रातो कार्ड देखाउनुभएको थियो ।

१० खेलाडीमा समेटिए पनि एपिएफले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जावलाखेललाई थप निरास बनायो । आवासले उत्कृष्ट गोल गर्दै एपिएफलाई महत्वपूर्ण तीन अङ्क दिलाउनुभयो ।

जारी लिगमा एपिएफको यो आठौं जित हो । जितसँगै एपिएफले २२ खेलबाट २९ अङ्क बनाएको छ । एपिएफसँग हार खेपेको जावलाखेल समान खेलबाट ३४ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ । 

मच्छिन्द्र र आर्मीको बराबरी 

लिग अन्तर्गत च्यासल मैदानमा भएको अर्को खेलमा साविक विजता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अङ्क बाँडेको छ । उपाधि होडमा रहेको मच्छिन्द्र आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि दिनेशले हेम्जनले गोल गर्नुभयो । मच्छिन्द्रले आर्मीबाट आत्मघाती गोल उपहार पाएको थियो । दिनेशले १७औं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

६०औं मिनेटमा बल बचाउने क्रममा आर्मीका युद्द शाहीको प्रहार आत्मघाती गोलमा परिणत भएपछि मच्छिन्द्र हारबाट जोगिएको थियो । हारेपनि मच्छिन्द्र दोस्रो स्थानमा यथावत छ । मच्छिन्द्रको २२ खेलबाट ३६ अङ्क छ । समान खेलबाट आर्मीले ३० अङ्क बनाएको छ । 

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । लिग तालिकाको अन्तिममा रहने दुई टोली रेलिगेसन (बी डिभिजनमा घटुवा) हुनेछन् । 

यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख र उदीयमान खेलाडीलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

एन्फाले प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’ लाई १० हजार, प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपियाँ प्रदान गरिँदै आएको छ ।