• ९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री मोदी तीन देशको भ्रमण पूरा गरी स्वदेश फर्कँदै

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

नयाँदिल्ली, जेठ ९ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदै हुनुहुन्छ ।

जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका भारतीय मूलका अमेरिकी तथा अन्य भारतीयले प्रधानमन्त्री मोदीप्रतिको अनुराग देखेर आफू अचम्मित भएको तथा आगामी महिना हुने प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमणका क्रममा आयोजना हुने एउटा कार्यक्रमको टिकट बिक्री खुल्ने बित्तिकै समाप्त भएकाले उहाँप्रतिको जनअनुराग र स्नेह अवर्णनीय रहेको बताउनुभएको थियो ।

अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उहाँले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्न आफूले भरमग्दुर प्रयास गर्न युक्रेनी राष्ट्रपतिलाई दिएको आश्वासनका साथै ‘अमेरिकी राष्ट्रपतिले तपाईँको लोकप्रियता देखेर मलाई ईष्या हुन्छ,’ भन्नुभएका समाचार सेलाउन नपाउँदै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सूर्यास्तपछि पनि प्रधानमन्त्रीलाई मोदीको हार्दिक स्वागत गर्दै निहुरेर खुट्टा छोएका तस्बिर र समाचार भाइरल भए ।

प्रधानमन्त्री मोदीको पपुवा न्युगिनीको पहिलो भ्रमण र त्यहाँ भएको १४ वटा टापु देशका नेताको शिखर सम्मेलन भारत र ती राष्ट्रबीचको सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, दिगो विकास, क्षमता अभिवृद्धि, स्वास्थ्य तथा जनकल्याण, भौतिक पूर्वाधार तथा आर्थिक विकासका निम्ति फलदायी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण–दक्षिण सहयोग प्रवर्द्धनमा प्रधानमन्त्रीको योगदान अनुकरणीय रहेको भन्दै उहाँलाई विशिष्ट सम्मान ‘कम्प्यानियन अफ द अर्डर’ प्रदान गरिएको थियो । प्रशान्त क्षेत्रका टापु राष्ट्रबाहेकका मुलुकका नेतालाई यो सम्मान विरलै प्रदान गरिन्छ ।

पपुवा न्युगिनीको भ्रमण पूरा गरी प्रधानमन्त्री मोदी आज दिनभर सिड्नीमा व्यस्त हुनुभयो । उहाँले आफ्ना समकक्षी एन्थोनी अल्वानिसँग द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श गर्नाका अतिरिक्त वैज्ञानिक तथा अष्ट्रेलियाका प्रसिद्ध सात जना व्यक्तित्वसँगै बेग्लाबेग्लै भेटवार्ता गर्नुका अतिरिक्त मेलबर्नबाट विमान नै चार्टर गरेर आएका भारतीय डायस्पोरासँग भेटघाटमा व्यस्त हुनुभयो ।

उहाँलाई भेट्न आउनुभएका ९२ वर्षीया एक जना डाक्टरले भारत निर्माणको अभियायनमा लाग्नुभएका मोदी सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको उपस्थितिमा अष्ट्रेलिया सरकारले सिड्नीको ह्यारिस पार्कको सडकलाई ‘लिटल इन्डिया’ पुनः नामाकरण गरिएको छ ।

भारत र अष्ट्रेलियाबीच व्यापार, लगानी, नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा सुरक्षा तथा सहयोगबारे भएका छलफलले निकट भविष्यमा कार्यान्वयन हुने र त्यसले पारस्परिक सम्बन्ध अझ सुमधुर तुल्याउने अपेक्षा गरिएको छ । रासस/एएनआई