• ९ मंसिर २०८१, आइतबार

लोपोन्मुख समुदायको संस्कृति संरक्षणमा 'लाठीनाच'

blog

'लाठीनाच' प्रस्तुत गर्दै कावासोतीका महिला ।

मीना कंडेल

कावासोती, जेठ २ गते । पछिल्लो समय पूर्वी नवलपरासीको थारु समुदायका युवाको 'लाठीनाच' राम्रो आम्दानीको स्रोत बनेको छ । 'लाठीनाच' थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यमसमेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरबासका व्यवस्थापक प्रेमचन्द्र मर्दनियाले बताउनुभयो। 

घरबासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमासमेत सहयोग पुगेको गुरौँको भनाइ छ । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ।

आफ्नो सुरक्षासहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकोमा सामान्य तरिकाले  सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रूपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको हो । पछि यो नाचका रूपमा विकास हुँदै गएको कावासोतीका जितनारायण महतोले बताउनुभयो । अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रूपमा विकास भएको छ । 

‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्नाका साथै आम्दानी र संस्कृतिको संरक्षणमासमेत टेवा पुगेको धनिराम गुरौले बताउनुभयो । लठ्ठीलाई एकाअर्कामा जुधाएर र घुमाएर नाचिने यो नाच नवलपुर आउने पर्यटकका लागि आकर्षण बनेको छ । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ ।

थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बनेको छ । यहाँ सञ्चालित घरबासमा  १५/२० जनाको  लाठीनाच देखाउने युवाको समूह नै  छ । 

समुदायमा हराउँदै जान थालेका  विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमासमेत घरबास पर्यटनले भूमिका खेलेको छ ।