• ८ जेठ २०८१, मङ्गलबार

मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरीमा रोकियो

blog

विजेता मच्छिन्द्रका खेलाडी ।

काठमाडौं, जेठ १ गते । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ । 

एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ३-० गोलले हरायो । दशरथ रंगशालामा भएको अर्को खेलमा शेर्पा र संकटाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

मच्छिन्द्रको जितमा सबै गोल विदेशी खेलाडीबाट सम्भब भयो । मच्छिन्द्रका लागि ओलावालेले दुई तथा आन्द्रेस नियाले एक गोल गर्नुभयो । आन्द्रेसले ४२औं मिनेटमा खाता खोल्नुभएको थियो । अफिजले ७७औं  र ८७औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई जिताउनुभयो । जितसँगै मच्छिन्द्रले १८ खेलबाट ३० अङक बनाएको छ । पराजित खुमलटारको समान खेलबाट १७ अङ्क छ । 

यस्तै दशरथ रंगशालामा भएको खेलमा संकटा पेनाल्टीमार्फत बराबरी गोल गर्दै हारबाट जोगिएको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता शेर्पाले लिएको थियो । ५०औं मिनेटमा शेर्पाका म्यानुएल नानाले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो ।

त्यसपछि ७२औं मिनेटमा संकटाका आयुष घलानले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो । विपक्षी सुशील राईले आयुष घलानलाई डिबक्स भित्र डलाएपछि संकटाले पेनाल्टीको मौका पाएको थियो । बराबरीसँगै हिमालयन शेर्पाले १८ खेलबाट २२ अङ्क बनाएको छ । संकटाको समान खेलबाट २१ अङ्क पुगेको छ ।